काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर प्रकरणमा संलग्न रहेको आरोपमा जेल जीवन बिताइरहेका राजपाका सांसद रेशम चौधरी चाँडै छुट्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको टुँडिखेलमा थारु समुदायको माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रेशम चौधरीमाथि झुठा मुद्दा लगाइएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


सम्बोधनका क्रममा उनले झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताएका हुन् । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे ।

प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताए । उनले सवै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै भने, ‘आवेगमा होइन, उत्तेजनामा होइन सवै जनसमुदायको मुक्तिको आन्दोलन अझै जारी छ ।’

समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए ।

‘१७ हजार मान्छे मैंले मारेको होइन’

सम्बोधनका क्रममा प्रचण्डले जनआन्दोलनका बेला आफूमाथि १७ हजार मान्छे मारेको झुठो आरोप लागेको बताएका छन् । ज्यान गुमाएका १७ हजार मानिस आफूले नभई राज्यसत्ताका कारण मरेको प्रचण्डको दाबी छ ।

‘ममाथि गलत तथ्यांक बारम्बार दोहोर्याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन ।’ उनले भने, ‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ । यो सत्य होइन ।’

हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।