लहान– मौसममा सुधार आएपछि आज बिहानदेखि सिरहाको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ ।


ADVERTISEMENT


विगत चार दिनदेखिको अविरल वर्षाका कारण आक्रान्त बनेको सिरहाको जनजीवन आज बिहान वर्षा रोकिएसँगै सामान्य बन्न थालेको हो । अविरल वर्षाका कारण सिरहामा कुनै मानवीय क्षति नभए पनि ग्रामीण भेगका बस्ती डुबानमा परेका थिए भने सिरहा सदरमुकामसहित मिर्चैया, गोलबजार र कर्जन्हालगायत मुख्य बजारसमेत जलमग्न भएको थियो ।


ADVERTISEMENT

# # #


वर्षा रोकिएसँगै बस्तीमा जमेको पानीको घट्न थालेको र नदीमा पनि पानीको सतह घट्दै गएपछि जनजीवन केही सहज हुन थालेको स्थानीयवासीले बताएका छन् । बस्तीमा पसेको बाढीका कारण विगत दुई दिनदेखि विस्थापित भएर सुरक्षित स्थानमा बस्दै आएका स्थानीयवासी अहिले बस्तीको पानी केही घट्न थालेपछि आ–आफ्नो घर फर्किन थालेको जिप्रका सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । अविरल वर्षाको पानीले निकास नपाउँदा कर्जन्हा गाउँपालिका–६ स्थित गौतारीमा करिब ४०, कल्याणपुर गाउँपालिकास्थित भेडियामा करिब ३५ र चिकनामा करिब २५ घर डुबानमा परेको थियो । यद्यपि बस्तीमा अझै दुई/तीन फिटजति पानी बगिरहेको स्थानीयवासीले बताएका छन् ।

यस्तै, नहरको बाढी बस्तीमा पसेपछि लहान नगरपालिका–१ स्थित दलित बस्तीका आधा दर्जन घरमा क्षति पुगेको छ । बाढीले ह्युम पाइप बगाएपछि अवरुद्ध बनेको सिरहाको जिरोमाइल–बरियारपट्टि सडक सञ्चालन गराउने गरी बाटो मर्मतको कामसमेत शुरु भइसकेको प्रहरीले जनाएको छ । वर्षा र बाढीबाट जिल्लाभरि भएको क्षतिहरुको विवरण संकलन कार्य भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

वर्षा रोकिएसँगै रेडक्रस सोसाइटीलगायत विभिन्न सङ्घसंस्थाको समन्वयमा जिल्लाका बाढीपीडितलाई राहत वितरण शुरु गरिएको छ । त्यस्तै वर्षा र बाढीसँगै विगत दुई दिनदेखि अवरुद्ध नेपाल टेलिकम र एनसेलको मोबाइल तथा इन्टरनेट सेवा पनि आज बिहानदेखि सञ्चालनमा आएको छ ।

बाढीपीडितलाई राहत वितरण

नहरको बाढी गाउँमा पस्दा घर डुबानमा परेका लहान नगरपालिका–१ स्थित दलित बस्तीका पीडित परिवारलाई आज बिहान विभिन्न सङ्घसंस्थाले राहत वितरण गरेका छन् । माडवारी सेवा समाजले उक्त बस्तीका ४० घर परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल, एक थान चकटी, एक थान साडी, एक थान हाफपाइन्ट, एक थान गन्जी, एक थान तन्ना, पाँच प्याकेट चाउचाउ, दुई प्याकेट बिस्कुट, दुई बोतल खानेपानी वितरण गरेको छ ।

यस्तै, सिरहाका मानवअधिकारकर्मीको टोलीले आजै बिहान उक्त बस्तीमा पुगेर ४० परिवारलाई चिउरा, भुजा, नून, कपडा, त्रिपाललगायतका राहत सामग्री वितरण गरेको अधिकारकर्मी सुनिलकुमार साहले जानकारी दिए । रासस