एजेन्सी ,
बेइजिङ — चीनले घूस लिएको आरोपमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूर्वप्रमुख मेङ हङवेईलाई १३ वर्ष ६ महिना जेल सजाय तोकेको छ ।२० लाख डलर घूस लिएको अभियोगमा उनलाई जेल सजाय तोकिएको हो ।


ADVERTISEMENT


उत्तरी चीनको तियानजिन सहरस्थित नम्बर वान इन्टरमेडियरी कोर्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै मेङले फैसला स्वीकार गरेको र पुनरावेदन नगर्ने जनाएको छ । उनलाई जेल सजायबाहेक २० लाख युयान जरिवाना पनि गराइएको छ ।


ADVERTISEMENT

# # #


६६ वर्षीय मेङले सार्वजनिक सुरक्षा उपमन्त्री र सामुद्रिक प्रहरी प्रमुखसहित विभिन्न सरकारी ओहदामा रहँदा पदको दुरुपयोग गर्दै २१ लाख डलर घूस लिएको अदालतसमक्ष स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ । मेङलाई सबै पद र चिनियाँ कम्युनिस्ट पार्टीबाट यसअघि नै मुक्त गरिएको थियो । चीनमा यस प्रकृतिका अपराधमा कडा सजाय हुने गरेको भए पनि अनुसन्धानमा मेङले गरेको सहयोग र गल्ती स्विकारेका कारण उनलाई कम सजाय भएको अदालतले जनाएको छ ।

सन् २०१६ मा इन्टरपोलका अध्यक्ष निर्वाचित मेङ सन् २०१८ को अन्त्यतिर फ्रान्सबाट चीन जाँदा हराएसँगै उनको चार वर्षीय कार्यकाल छोट्याइएको थियो । मेङ कहाँ गए भन्नेबारे इन्टरपोललाई जानकारी गराइएको थिएन । अध्यक्ष बेपत्ता भएपछि औपचारिक रूपमै मेङबारे चीनसमक्ष जानकारी माग गर्न इन्टरपोल बाध्य भएको थियो । पछि, मेङले पदबाट राजीनामा दिएका थिए । त्यसको एक महिनापछि चिनियाँ अधिकारीले उनलाई पक्राउ गरिएको र घूस लिएको आरोपमा छानबिन भइरहेको पुष्टि गरेका थिए ।

चिनियाँ अदालतको निर्णय बाहिरिएसँगै दुई सन्तानसहित फ्रान्सै रहेकी मेङ पत्नी ग्रेस मेङले भने चिनियाँ प्रशासनले झूट बोलिरहेको र आफ्नो पति जीवितै छन् भनेर प्रश्न गरेकी छन् ।

उनले आफ्ना पतिलाई चीनमा पक्राउ हुनबाट जोगाउन र उनको परिवारलाई हेरचाह गर्न नसकेको भन्दै इन्टरपोलमाथि आरोप लगाइरहेकी छन् । केही समयअघि मेङका वकिलहरुले यस विषयमा नेदरल्यान्डको हेगस्थित मध्यस्तता सम्बन्धी स्थायी अदालतमा कानुनी उजुरी दर्ता गरेका थिए ।