काठमाडौँ – खुर्सानीको धुलो छर्केर अवकाश प्राप्त भूपू सैनिकबाट ५० लाख लुटपाट गर्ने ६ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमार बहादुर बुढाथोकी, तेन्जिङ बहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।


ADVERTISEMENT

# # #


माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले ‘मेरो बाजेसँग बल्ने ढुंगा छ’ छ खरिद गर्ने हो भन्दै ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए ।

उनीहरुले डाँका गरेको रकम बाँडेर लिएको र मोटरसाइकल, सुनका गहना, मोवाइल लगायतका सामान किन्ने र घरायसी काममा खर्च गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाँका गरेको ५० लाखमध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । डाँका गरेको ५० लाख रुपैयाँमध्ये बेदबहादुर भन्ने भीमबहादुरले ७ लाख, सञ्जित वाइवाले ५ लाख, कुमार बुढाथोकीले ४ लाख ५० हजार, दावा छिरिङले ५ लाख, नकुर तामाङले ५ लाख रुपैयाँ लिएका प्रहरीले जनाएको छ ।

डाँका गरेको रकमबाट भीमबहादुरले ७ लाखमध्ये ३ लाख ३० हजारमा लु५९प २१३५ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल किनेको महाशाखाको भनाई छ । यस्तै सञ्जित वाइवाले डाँका गरी पाएको रु ५ लाखमध्ये २ लाख ११ हजार सानिमा विकास बैङ्कमा जम्मा गरेको, दावा छिरिङ तामाङले डाँका गरी पाएको नगद रु ५ लाखमध्ये १ लाख ५० हजार ऋण लिएको रकम तिरेको र खुलेको छ । यस्तै अन्य पक्राउ पर्नेहरुले पनि विभिन्न काममा केही रकम खर्च गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका साथहरुबाट ४ थान मोटरसाइकल र केही थान मोबाइल पनि बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।