रुपन्देही– प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ। लगानी सम्मेलनको पूवर्तयारीस्वरुप छलफल सकेर प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्न बैशाखमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT


प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको अवधारणा तय गर्दै वैशाखको ५ गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए। प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको पहिचान र परिचालन गर्नका लागि लगानी सम्मेलन आयोजना गर्न लागेको उनले बताए। प्रदेश सरकारले स्वदेशी निजी पूँजी एवम् प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने उदेश्य लिएको उनले बताए।


ADVERTISEMENT

# # #


सरकारले सम्मेलनबाट प्रदेशको लगानीको लागि आवश्यक श्रोतको न्यूनतम पूर्ति गर्न सहयोग पुग्ने, स्वदेशी निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी, नविनतम प्रविधि एवम् ज्ञान परिचालन हुने अपेक्षा गरेको छ। लगानी सम्मेलनबाट कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार भई प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा पनि सरकारले गरेको मन्त्री चौधरीले बताए।

लगानी सम्मेलनको प्रचारप्रसार गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार, पत्रकार महासंघका प्रदेश अध्यक्ष, राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख र सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहेको प्रचार प्रसार समिति गठन गरिएको छ ।