काठमाडौँ – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रथम वार्षिक स्मृति दिवसमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुने भएको छ ।


ADVERTISEMENT


गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका अधिकारीको स्मरणमा गठित ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ले राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गरेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ शिर्षकमा निबन्ध प्रतियोगिता राखिएको छ ।


ADVERTISEMENT

# # #


“रवीन्द्र अधिकारी शब्दमा नअटाउने नेता हुनुहुन्थ्यो, विकास र समृद्धिको स्पष्ट सोच भएको दूरदृष्टि नेता हामीले गुमायौँ, विद्यार्थी राजनीतिबाट सफल हुँदै मन्त्री हुनुभएका अधिकारीको स्मरणमा निबन्ध प्रतियोगिताको आयोजना गरेका हौँ”, आचार्यले भने । उनले अधिकारीका ‘संविधानसभा ः लोकतन्त्र र पुनसंरचना’, ‘समृद्ध नेपाल’लगायत राजनीति एवं विकाससम्बन्धी थुप्रै लेख प्रकाशन भइसकेको बताए ।

प्रतियोगितामा नेपालभरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरुको सहभागिता रहने र यसका लागि प्रतिष्ठानले पत्राचारसमेत गरिसकेको प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए । प्रतियोगितामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत नियमित विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन् । एउटै विश्वविद्यालय र क्याम्पसबाट एक वा सो भन्दा बढीले समेत सहभागिता जनाउनसक्ने पाण्डेले बताए । सहभागीले यही माघ मसान्तसम्म दुई हजार ५०० शब्दमा आफ्नो स्पष्ट परिचय खुलाएर इमेल वा अन्य माध्यमबाट निबन्ध प्रतिष्ठानको कार्यालय पोखरा–८ न्यूरोडमा पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । विजेतालाई आगामी फागुन १५ गते अधिकारी स्मृति दिवसमा पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।