रवीन्द्र काफ्ले, फिदिम – अलैँचीको उचित बजार मूल्यका लागि स्वदेशमा खपत बढाउन पहल गरिने भएको छ । पूर्वी पहाडमा ठूलो मात्रामा उत्पादन हुने अलैँचीले बजार र उचित मूल्य नपाएका बेला अलैँचीको खपत बढाउन पहल थालिने भएको हो । अहिले नेपालमा उत्पादन हुने अलैँचीको करीब एक प्रतिशत मात्रै स्वदेशमा खपत हुने गरेको नेपाल अलैँची व्यवसायी महासङ्घको तथ्याङ्क छ ।


ADVERTISEMENT


अलैँचीबाट गरम मसला, चिया मसला, गोटा अलैँचीलगायत उत्पादन गरी बिक्री गर्ने तयारी थालिएको हो । पाँचथरको फालेलुङ गाउँपालिकामा अलैँची खेतीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँचीको स्वदेशमै खपत हुने परिकार उत्पादन थालिने भएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची विकास जोनका कार्यक्रम संयोजक प्रकाश विश्वकर्माका अनुसार मसलालगायत खाद्य परिकार उत्पादनको प्रयास शुरु भएको हो । फालेलुङ–१ मा अलैँचीको गरम मसला उद्योग स्थापना गरी उत्पादन थालिएको छ । यहाँ उत्पादित गरम मसलाको गुणस्तरबारे परीक्षण एवम् अनुसन्धानका लागि खाद्य गुणस्तर विभागमा पठाइएको छ ।

परियोजनाअन्तर्गत नै अलैँचीको गरम मसला र चिया मसला उत्पादन गर्न कृषकलाई तालीम दिने तयारीसमेत गरिएको विश्वकर्माले जानकारी दिए । अलैँचीको गरम मसलाले अन्य गरम मसलालाई प्रतिस्थापन गर्ने तथा गोटा अलैँची प्याकेटले सुकुमेललगायत विदेशबाट आयात हुने सामग्रीलाई प्रतिस्थापन गर्ने विश्वास लिइएको विश्वकर्माले बताए ।

स्वदेशमा खपत हुनसक्ने खाद्य सामग्री उत्पादन गर्न सके अलैँचीले उचित मूल्य प्राप्त गर्ने तथा अलैँचीको बजार अभाव अन्त्य हुने अपेक्षाका साथ काम थालिएको हो । तीन वर्षदेखि यहाँको फालेलुङ गाउँपालिकामा सञ्चालित परियोजनाले अलैँचीको खेती विस्तार एवम् उत्पादन वृद्धिमा जोड दिइरहेको छ । गुणस्तरीय अलैँची उत्पादनमा वृद्धि भए पनि अलैँची बिक्री हुनै छाडेको तथा बिक्री भए पनि उचित मूल्य प्राप्त नभएपछि परियोजनाले स्वदेशमै खपत गर्ने विकल्पका कार्यक्रम अघि बढाएको विश्वकर्माले जानकारी दिए ।

कृषक समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेल बजारको मागअनुसार अलैँचीजन्य सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिन्छन् । “हाम्रो खाद्य बजारमा अलैँचीसम्बन्धी कुन सामग्रीको माग हुन्छ, सोहीअनुसार उत्पादनमा जोड दिनसके बजारको अभाव अन्त्य हुन्छ”, पोखरेलले भने, “सरकारले अलैँचीको भारत बाहेकको बजार खोज्नुपर्छ ।”

फालेलुङ–१ की अलैँची कृषक सीता जवेगू अलैँचीको गुणस्तरले मूल्यमा प्रभाव पार्न नसक्दा कृषक निराश हुनु परेको बताउँछिन् । “परियोजना लागू भएपछि गुणस्तरमा जोड दियौँ तर गुणस्तरले मूल्यमा प्रभाव पारेन्”, जवेगूले भनिन्, “हिजो हेलचेक्र्याइँ गरिएको अलैँची र आजको गुणस्तरीय उत्पादनले उस्तै मूल्य पाएका छन् ।” दुई वर्षदेखि यहाँ उत्पादित अलैँचीले प्रतिमन (४० किलोग्राम) रु २५ हजारदेखि रु ३० हजारसम्म मूल्य प्राप्त गर्ने गरेको छ ।

अलैँचीको विश्व बजार खोजीमा सक्रिय पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल मूल्यमा अचानक ह्रास आएपछि यहाँको अलैँचीको गुणस्तरमा उल्लेख्य सुधार भएको बताउँछन् । गुणस्तर सुधार हुँदासमेत अलैँचीको उचित मूल्य नपाउनुले कृषक एवम् व्यवसायीलाई निराश बनाएको नेपालको भनाइ छ । “विश्व बजार खोजी र स्थानीय खपत वृद्धि नै अलैँचीका आगामी विकल्प हुन्”, नेपालले भने, “मसलालगायत खपतयोग्य उत्पादनले राम्रो मूल्य प्राप्त गर्न सक्दछन् । यसले अलैँचीको मूल्य वृद्धिमा समेत सघाउ पु¥याउँछ ।”

अलैँचीको मूल्य सुधारका लागि चिलिङभ्याट स्थापना, न्यूनतम मूल्य निर्धारण र कृषक एवम् व्यवसायीलाई सरल ब्याजदरमा ऋण प्रवाह गर्न सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । अलैँचीको स्थानीय खपत हुने सामग्री उत्पादनमा सरकारले सघाउनुपर्ने कृषक एवम् व्यवसायीहरुको माग छ । रासस

प्रतिकृया

प्रतिकृया