डडेल्धुरा– ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको अजयमेरुकोटको संरक्षण गरिने भएको छ ।


ADVERTISEMENT


राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि बनाएको दरबार र सो स्थलको अध्ययन अनुसन्धान र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरिने अजयमेरु गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


अजयमेरुकोट देवललगायतका स्थानको समग्र गुरुयोजना निर्माण गर्ने कार्य सञ्चालन गरिने योजनासहित डडेल्धुराको अजयमेरु गाउँपालिकाको गाउँ भेला ऐतिहासिक पर्यटकीयस्थल अजयमेरुकोटमा मंगलबारदेखि शुरु भएको छ ।

तेह्रौँ शताब्दीमा निर्माण भएको पुरानो इतिहास बोकेको डोट्यली राजा नागी मल्लले शासन गरेको अजयमेरुकोट आसपासमा रहेका देवल एवं ऐतिहासिक पर्यटनस्थलसम्म पहुँचमार्ग निर्माण तथा विस्तारमा जोड दिइने योजनासहित गाउँ सभा पर्यटकीयस्थल अजयमेरुकोटमा नै शुरु भएको गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए ।

पर्यटकीय सम्भावना बोकेको अजयमेरु गाउँपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन पूर्वाधारको निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति लिइने गाउँपालिका अध्यक्ष भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधार : जनमुखी प्रशासन समृद्ध अजयमेरुको मूल आधार’ भन्ने नारासहित उद्घाटन गरिएको गाउँसभामा बैतडी जिल्लाको मेलौली नगरपालिकासँग सहकार्य गरी सोरनाया खोला र भागेश्वर गाउँपालिकासँग सहकार्य गरी ठूलीगाढमा विद्युत् उत्पादन गर्न सकिने योजनासमेत नीति तथा कार्यक्रममा रहेको जनाइएको छ ।

व्यावसायिक पशुपालन र कृषि पकेट क्षेत्र बनाउन सकिने, पर्यटन विकासमार्फत आन्तरिक आय वृद्धि गर्न सकिने, काष्ठजन्य उद्योग स्थापनाका लागी प्रचुर कच्चा पदार्थ हुनु, वर्षे तथा हिउँदे फलफूल र मसलाबाली उत्पादनका लागि उपयुक्त वातावरण हुनु, अधिकांश बस्तीमा सडकको ट्रयाक खुल्नु, अधिकांश बस्तीमा विद्युतीकरण हुनुलाई अवसरका रुपमा राखिएको अजयमेरु गाउँपालिकाको पहिलो सभामा प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमानित कुल रु २६ करोड ७६ लाख ८६ हजार ३३३ राखिएको बजेटमा आयतर्फ बैंक मौज्दात, सशर्त अनुदान, समानीकरण अनुदान, आन्तरिक आम्दानी राखिएको छ ।

यस्तै, चालु खर्चतर्फ गाउँपालिकास्तरीय योजना तथा कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रम, सशर्त अनुदान गरी रकम समावेश गरिएको हो ।

यस बजेटको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा विस्तार हुने, नागरिकलाई नजिकबाट सेवा प्रवाह गरी सुशासन कायम हुने, सामाजिक सुरक्षा तथा मानव विकासका सूचक (शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सरसफाइ खानेपानी) उल्लेखनीय प्रगति हुने, रोजगारीका अवसर सिर्जना हुने, राज्यले लिएका नीति र दिगो विकासका लक्ष्य तथा चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको अध्यक्ष भट्टले बताए । रासस