काठमाडौं –   सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछ ।लिगको १२ औं चरणको खेल अन्तर्गत पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स, दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब भिड्दैछन् ।


ADVERTISEMENT


तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स बिहान पौने ९ बजे भिड्नेछन् । फ्रेन्ड्सलाई शीर्ष ६ को दौडमा कायम रहन एपीएफलाई हराउँनै पर्ने दबाब छ । एक हारले समेत फ्रेन्ड्स शीर्ष ६ को दौडबाट बाहिरिनेछ । सोही कारण ललितपुरे क्लबलाई जितको विकल्प छैन ।


ADVERTISEMENT

# # #


यता, रेलिगेशन जोनबाट बच्न संघर्षरत एपीएफ समेत दबाबमा छ । अर्को सिजन बी डिभिजनमा घटुवा हुनबाट बच्न एपीएफलाई जित निकाल्नै पर्ने दबाब छ । बराबरी वा हारको नतिजाले विभागीय टिमको रेलिगेशन जोखिम अझ बढ्नेछ ।

अर्को खेलमा पुछारको टिम सरस्वती र च्यासल दिउँसो सवा १२ बजे भिड्नेछन् । रेलिगेशनबाट जोगिएको च्यासललाई शीर्ष ६ को दौडमा गणितिय रुपमा कायम रहन सरस्वतीबिरुद्व जित चाहिएको छ ।

तर रेलिगेशनबाट बच्न संघर्षरत पुछारको टिम सरस्वती च्यासललाई पराजित गर्न  मेहनत गर्नेछ ।च्यासल १२ अंक सहित तालिकाको १० औं स्थानमा छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ ।

यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछ । संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ ।

शीर्ष ६ मा पर्ने लक्ष्य राखेको संकटा समेत तीन अंक चाहिएको छ । मछिन्द्र २५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । संकटा १५ अंक सहित तालिकाको सातौ स्थानमा छ ।