हिमालय पोष्ट, काठमाडौँ – सुन्धारा बस्ने लक्की रिजाललाई सोमबार लाजिम्पाटबाट थापाथलीस्थित नर्भिक अस्पताल चोकसम्म जानुपर्ने थियो । त्यसका लागि उनले एउटा ट्याक्सी कार भेट्टाइन् । उक्त ट्याक्सी लक्कीको गन्तव्यसम्म जान तयार भयो ।


ADVERTISEMENT


लक्कीले ट्याक्सीमा यात्रा गरिन् । गन्तव्य आयो । हतारमा उनी बाहिर निस्किइन् । तर, उनले आफ्नो बहुमूल्य सामान छुटेको पत्तै पाइनन् । लक्कीलाई एकछिनपछि थाहा भयो, उनको अनुमानित १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकलको कागजपत्रहरु र लत्ताकपडा सहितको लकेज त उक्त ट्याक्सीमै छुटेछ ।


ADVERTISEMENT

# # #


उनलाई गाडीको नम्बर थाहा थिएन न त सवारी चालकको फोन नम्बर नै । लगत्तै (अनुमानित दिउँसो ३ः३० बजे) महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर आफ्नो सामान छुटेको भन्दै निवेदन दिइन् । त्यसैआधारमा महाशाखाको टोलीले खोजतलास सुरु गर्‍यो । त्यहीबेला महाशाखाको ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ मा बर्दियाको गेरुवा गाउँपालिका ४ का नविन सिग्देल फोन सम्पर्कमा आए ।

चालक नविनलाई सुनको सिंक्री पुरस्कारस्वरुप प्रदान गरिँदै ।

बा.२ ज ४०७१ नं. को भाडाकार चालक उनले कुनै यात्रुको महत्वपूर्ण सामान आफ्नो गाडीमा छुटेको भन्ने जानकारी गराए । त्यसपछि महाशाखाको टोलीले चालक नविनलाई सामानसहित महाशाखा बोलायो । बुझ्दै जाँदा उक्त सामान लक्कीकै भएको प्रमाणित भयो । त्यसपछि ट्राफिकले लक्कीलाई सामान लिनका लागि महाशाखा बोलायो ।

चालक नविनले महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारको उपस्थितिमा उक्त सामानको धनी लक्कीलाई हस्तान्तरण गरे । इमान्दारीताको कदर गर्दै चालकलाई सामानधनीले १ थान सुनको सिंक्री पुरस्कार स्वरुप प्रदान गरे साथै धन्यवाद पनि दिए ।