बेइजिङ — चीनले कोरोना भाइरस नियन्त्रणमा खटिएका केही वरिष्ठ अधिकारीलाई बर्खास्त गरेको छ । भाइरसको उद्‍गस्थल हुबेई प्रान्तको स्वास्थ्य आयोग प्रमुख झाङ जिन र आयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी सचिव लियु इङ्गीलाई कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै बर्खास्त गरिएको हो ।


ADVERTISEMENT


उनीहरूको ठाउँमा राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक एवं कम्युनिस्ट पार्टीका प्रान्तीय कमिटी सदस्य वाङ हेसेङलाई ल्याइएको छ ।वरिष्ठ अधिकारी झाङ र लियुलाई हटाउनुको ठोस कारणबारे भने दिइएको छैन । ती अधिकारीलाई सत्तारुढ कम्युनिस्ट पार्टीले पनि कारबाही गर्न सक्ने चीनको भ्रष्टाचारविरोधी निकायले जनाएको छ । भाइरसको प्रकोप नियन्त्रणका लागि प्राप्त चन्दा हिनामिना गरेको आशंकामा रेडक्रसका स्थानीय उपनिर्देशक झाङ चीन पनि हटाइएका छन् । वुहानपछि सबैभन्दा धेरै प्रभावित हुआनगाङ सहरस्थित स्वास्थ्य आयोगका प्रमुख पनि पदमुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण रोकथाममा खटिँदा उचित कार्य नगरेको भन्दै कारबाहीमा पर्नेमध्ये यी वरिष्ठ अधिकारी हुन् । कारोना संक्रमण नियन्त्रणमा प्रशासनले चालेका कदमलाई लिएर चौतर्फी आलोचना बढिरहेकै बेला उच्च अधिकारी कारबाहीमा परेका छन् । बेइजिङस्थित केन्द्रीय सरकारले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्नेलाई पदमुक्त गर्ने चेतावनीसमेत दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । (एजेन्सी)