काठमाडौं –  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १२औँ चरणको अन्तिम खेलमा आज जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन्। यसपछि हरेक टिमको एक खेल बाँकी रहन्छ। तर, सबै ध्यान मछिन्द्र र आर्मीबीचको अन्तिम खेलमा अड्किएको छ। जसमा विजेताको टुंगो लाग्नेछ।


ADVERTISEMENT


१२औँ चरणको खेलले सरस्वती युथ क्लब रेलिगेसनमा पर्‍यो भने उपाधिको दाबेदारी मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच मात्रै बाँकी बस्यो। त्यसले १३औँ चरणको अरु खेल फिका बन्ने भए पनि अन्तिम खेल रहँदासम्म उपाधि पक्का नहुनुको रोमाञ्चकता भने बनेको छ।


ADVERTISEMENT

# # #


मछिन्द्र र आर्मीबीचको लिगको अन्तिम खेल फागुन ३ गते शनिबार दशरथ रंगशालामा हुनेछ। जसमा आर्मीलाई उपाधि जित्न बराबरी पर्याप्त हुनेछ भने मछिन्द्रले खेल जित्नैपर्ने हुन्छ।

अहिले १२ खेलमा ९ जित, २ बराबरी र १ हारसहित २९ अंक बनाएर आर्मी क्लब शीर्ष स्थानमा छ। १२ खेलमा ९ जित, २ बराबरी र १ हार नै भएर दोस्रोमा रहेको मछिन्द्रको २८ अंक छ। गएको वर्षको लिगमा रेलिगेसन नहुने एन्फाको नियमअनुसार यो लिगमा मछिन्द्रको एक अंक कम भएको हो। गएको वर्ष मछिन्द्र पुछारबाट दोस्रोमा थियो।

आफ्ना स्टार खेलाडीहरु मछिन्द्रमा गए पनि मनाङ मर्स्याङ्दी क्लब १२ खेल सकिँदा तेस्रो स्थानमा रहेको छ। ७ खेल जितेर ४ बराबरी गर्दै १ खेल हारेको मनाङको २५ अंक रहेको छ। चौथो स्थानमा रहेको थ्री स्टार क्लबको १२ खेलमा २३ अंक छ।

लिग तालिकामा पाँचौँ स्थानमा रहेको जावलाखेलले ११ खेल खेल्दा १८ अंक बनाएको छ। छैठौँ स्थानमा रहेको नेपाल पुलिस क्लबको १७, सातौँमा रहेको च्यासल युथ क्लब, आठौँमा रहेको एनआरटी र नवौँमा रहेको संकटा तीनै क्बलको १५ अंक, १०औँ मा रहेको फ्रेन्ड्सको १४ र एक खेल कम खेलेर ११औँ स्थानमा रहेको हिमालयन शेर्पाको १० अंक छ।

१२ खेलमा दुई खेल मात्र जितेर दुई खेल बराबरी गरेको बिग्रेड ब्वाइज क्लबले ८ अंक र १२ खेलमा दुई खेल नै जितेर दुई बराबरी गरेको एपिएफले पनि ८ अंक नै बनाएको छ। रेलिगेसनमा परेको सरस्वतीको चार अंक छ। सरस्वतीले बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने हिमालयन शेर्पालाई ४–३ ले हराएको थियो।