काठमाडौँ – यही फेब्रुअरी २८ देखि थाइल्याण्डमा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन टी–२० प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ ।


ADVERTISEMENT


यही वर्ष पाकिस्तानमा हुने टी–२० एशिया कपको सुरुवाती छनोट प्रतियोगिताका रुपमा रहेको इस्टर्न रिजनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाली टिममा युवा तीव्र गतिका बलर किशोर महतो पहिलो पटक स्थान बनाएका छन् ।


ADVERTISEMENT

# # #


अर्का युवा खेलाडी सन्दीप जोरा, स्पिनरद्वय भुवन कार्की र सुसन भारीले टिममा पुनरागमन गर्दा रोहित कुमार पौडेल र ललित नारायण राजवंशी भने बाहिरिएका छन् । यस्तै तीव्र गतिका मुख्य बलर सोमपाल कामी र अनुभवी ब्याट्सम्यान शरद भेषावकर चोटका कारण टिमबाट बाहिरिएका छन् ।

घोषणा गरिएको नेपाली टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, आरिफ शेख, आरिफ शेख, विनोद भण्डारी, करण केसी, अविनाश बोहरा रहेका छन् । यस्तै कुशल मल्ल, पवन सरार्फ र सन्दीप जोरा नेपाली टिममा रहेका छन् ।

इस्टर्न रिजनमा आयोजक थाइल्याण्डसहित नेपाल, भुटान, म्यान्मार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् ।  चीनले भने पछिल्लो समय चीनमा देखिएको स्वास्थ्य समस्याका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

प्रतियोगिताको उत्कृष्ट दुई टिमले एशिया कपको फाइनल छनोट खेल्नेछन् । चार टिम सहभागी हुने त्यस प्रतियोगितामा दुई टिम पश्चिम क्षेत्रबाट आउनेछन् । एशियाकपको विजेता टोली यही वर्ष पाकिस्तानमा हुने टी–२० एशिया कपका लागि छानिनेछ ।

पश्चिम क्षेत्रमा बहराइन, इरान, माल्दिभ्स, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका छन् ।

प्रशिक्षकमा जगत टमाटा

नेपाली टिमको मुख्य प्रशिक्षकत्व जगत टमाटाले गर्न भएका छन् । यसअघिका मुख्य प्रशिक्षक भारतका उमेश पटवालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा करार सकिनु ४ महिना अगाडि नै राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले तत्कालका लागि टमाटालाई अन्तरिम मुख्य प्रशिक्षकका रुपमा जिम्मा दिएको हो ।

टमाटाले अर्को प्रशिक्षक नआएसम्मका लागि नेपाली टिमको मुख्य प्रशिक्षकको रुपमा काम गर्नेछन् । यसअघि दुई वर्षसम्म नेपाली टिमको मु्ख्य प्रशिक्षक रहिसकेका टमाटा नेपालले एकदिवसीय मान्यता पाउँदा पनि मुख्य प्रशिक्षक थिए ।