कुरिनटार, चितवन– सशस्त्र प्रहरी बल नेपालले त्रिशूलीको भेलमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गरेको छ ।


ADVERTISEMENT


यात्रुबाहक बस दुर्घटना भई त्रिशूली नदीको भेलमा ‘बचाउ–बचाउ’ भनी चिच्याइरहेका यात्रुलाई तत्कालै कसरी उद्धार गर्न सकिन्छ भनी परिकल्पना गरेर विहीबार उक्त अभ्यास सञ्चालन गरिएको हो ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम केन्द्र, कुरिनटार चितवनबाट परिचालित जनशक्तिले भदौको भेलमा त्रिशूलीमा बगिरहेका यात्रुको सकुशल उद्धारसँगै उपचार गरेको परिघटना प्रस्तुत गरेका थिए ।

पृथ्वी राजमार्गको नौबिसे–मुङ्लिन तथा नारायणगढखण्ड धेरै सडक दुर्घटना हुने क्षेत्र मानिन्छ । विगतमा यस क्षेत्रमा पटक–पटक धेरै ठूलाखाले सडक दुर्घटना भएका थिए ।

बाढीपहिरोका कारण त्रिशूली नदीमा बगिरहेको व्यक्तिलाई सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापनसम्बन्धी तालीम प्राप्त पौडीबाजले झोलुंगे पुलबाट डोरीको सहायताले हाम फालेर कसरी बचाउँछ भन्ने कहालीलाग्दो तर सफल दृश्यसमेत उक्त अभ्यासको क्रममा प्रस्तुत गरियो ।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनसम्बन्धी एक हजार १२०, गोताखोर २२, अग्निनियन्त्रक ५७, आपत्कालीन खोज उद्धार ५७ जना निपूण जनशक्ति तयार गरिसकेको छ ।

प्राकृतिक विपत्तिको समयमा खोज तथा उद्धार गर्ने सन्दर्भमा हाल मध्यम खालको खोज तथा उद्धारको तयार गर्ने कार्यमा सशस्त्र प्रहरी लागिपरेको छ । सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकालगायत मुलुकका सात स्थानमा उद्धार सामग्रीसहित ५०/५० जनाको विपद् व्यवस्थापन तालीम प्राप्त जनशक्ति उपकरणसहित तैनाथ गरिसकेको छ ।

फेवातालमा भएको डुंगा दुर्घटनादेखि जाजरकोटमा भएको बस दुर्घटनामा पनि सशस्त्र प्रहरी बलका जनशक्तिले आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन् । सीमा सुरक्षा र दंगा नियन्त्रण गर्ने उद्देश्यले गठन भएको सशस्त्र प्रहरी बलले मुलुकका विभिन्न भागमा सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण जनचेतना कार्यक्रममा ५१० विद्यालय र १२४ समुदायका गरी एकलाख ५० हजार जनाभन्दा बढीको सहभागिता भइरहेको तालीम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक हरिशंकर बुढाथोकीले जानकारी दिए ।

खोज र उद्धारमा काविल सशस्त्र प्रहरीको जनशक्तिबाट भूकम्पको बेला भएको योगदानको सर्वत्र प्रशंसा भएको थियो । बलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको अगुवाइमा २०७२ साल वैशाखमा भूकम्प गएको छ दिनपछि गोँगबु क्षेत्रमा घरले च्यापिएको अवस्थामा रहेका पेम्वा लामालाई सकुशल उद्धार गर्न सशस्त्र प्रहरी बल सफल भएको थियो ।

भूकम्पका बेला बलका २२ हजार जनशक्ति परिचालन भएका थिए भने २४५ जना पीडितको पुरिएको भौतिक संरचनाबाट जीवितै उद्धार गरेको थियो । खासगरी अधिक जलप्रवाह भएका खोला तथा नदी र पहाडी क्षेत्रमा हुने प्राकृतिक विपत्तिका घटनामा नेपाली सुरक्षाकर्मीबाट हुँदै आएको खोज र उद्धारको कार्यलाई अरु देशबाट पनि प्रशंसा हुँदै आएको बताउँछन् –बलका वरिष्ठ प्रहरी उपरीक्षक राजु अर्याल ।

‘विपद् भनेको खबर दिएर आउने विषय होइन, परेको बेला परिणाम देखिने गरी काम गर्नुपर्दछ, अरु देशका खोज उद्धार टोलीले सेफ्टीलाई ध्यान दिन्छन्, हामी भने जोखिम मोलेर निरन्तर काम गर्दछौँ’, प्रहरी निरीक्षक बस्नेतले भने ।
समुद्रका कारण हुने विपत्तिबाहेक नेपाल भूकम्पको हिसाबले ११ औँ, प्राकृतिक प्रकोपका घटनाका हिसाबले ३० औँ र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिमका हिसाबले चौथो जोखिमपूर्ण मुलुक मानिन्छ ।

अभ्यासको क्रममा सशस्त्रले खोज तथा उद्धारका लागि प्रयोग हुने सामग्रीको प्रदर्शनी समेत गरेको थियो । बाढी, पहिरो वा अरु दुर्घटनाका कारण खोँचमा खसेको व्यक्तिलाई कसरी उद्धार गर्ने भन्नेबारेमा पनि सशस्त्रले व्यावहारिक अभ्यास प्रदर्शन गरेको थियो ।

भदौको बाढीमा पनि नेपालका नदीमा सुरक्षित ढंगबाट र्याफ्टिङ् सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन संगठनले त्यस क्षेत्रमा बिहीबार सञ्चारकर्मीसमेत संलग्न गराएर आठ किलोमिटर जलयात्रा सञ्चालन गरेको थियो ।

काठमाडौँ र पोखराबाट १०० किलोमिटरको दूरीमा चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित बलको विपद् व्यवस्थापन तालीम केन्द्रसँगै त्यस क्षेत्रमा दुर्घटनाका बिरामीलाई तत्काल उपचार गर्नका लागि ट्रमा सेन्टरको निर्माण भइरहेको छ ।

सडक दुर्घटना वा प्राकृतिक विपत्तिका घटना भएको स्थानमा तत्कालै पुगेर खोज र उद्धारका क्षेत्रमा अब्बल सावित गर्ने ढंगले योजना बनाएर सशस्त्र प्रहरीले काम गर्दै आएको छ । नारायण न्यौपाने/रासस