काठमाडौँ – नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहको आयोजना गरेको छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।


ADVERTISEMENT


समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी थिइन् । नेपाली सेनाका परमाधिपति समेत रहेकी उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।


ADVERTISEMENT

# # #


समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिन्।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्लेसमेत प्रस्तुत गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भयो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित थिए । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए । समारोहमा नेपाल भ्रमणमा रहेका बेलायती सेनाध्यक्ष मार्क कार्लटन स्मिथ अतिथिका रूपमा सहभागी थिए ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । समारोहमा उत्कृष्ट कार्य गर्ने सेनाका विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरिएको थियो ।

तस्बिर : रासस