काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


मंलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीले आफ्ना मन्त्रीले नै कमिसन खाएको कुरा थाहा पाउँदा पनि नपाएझैँ गरेको भन्दै उनले राजीनामा माग गरे । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै उनले यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।


ADVERTISEMENT

# # #


‘‘सबै कुरा थाहा पाएर थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। केही थाहा पाउनुभएको छैन भने त्यो असक्षमता हो । संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’ थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’

प्रधानमन्त्रीले के भन्छन् भन्ने थाहा नभए पनि आसेपासेहरुले थाहा थिएन भन्न थालेको उनले सुनाए । ‘प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ?’ उनले भने, ‘पत्याउने हो भने हाम्रो प्रश्न रहन्छ, सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ ?’

यस्तै हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ बताएका छन् । नेता थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१ सालका सक्रिय राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’

प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण गराएका थिए ।

नेता थापाले एमसिसीको प्रसंगमा नेकपाभित्रकै खाँटी राष्ट्रवादीले प्रधानमन्त्रीलाई तह लगाइदिएको बताए। ‘एमसिसीमा नेकपाभित्रकै खाँटी राष्ट्रबादीले तपाईंलाई तह लगाइदिएका छन्। एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छरु देखिँदाखेरि सुरो यथार्थमा विचरो भन्दैछन्,’ उनले भने।