– डा. मिनेन्द्र रिजाल


ADVERTISEMENT


सबैभन्दा पहिले प्रधानमन्त्रीज्यूलाई सभामुखज्यू मार्फत जन्मदिनको शुभकामना व्यक्त गर्दछु । आरोग्यको, दीर्घायूको । त्यसबारे पछि भनौँला । पहिले,अस्ति हामीले संसद अवरुद्ध गरेका थियौँ । संसदको कारबाही बन्द गरेका थियौँ । त्यसबारे केही भन्न म आवश्यक देख्छु । संसदको सार्वजनिक लेखा समितिले सेक्यूरिटी प्रिन्टिङ्ग प्रेसबारे यो कारबाही अगाडि नबढोस्, दुईवटा कम्पनीलाई सरकारले दिएर जुन घोटाला गर्ने बाटोमा हिंडेको छ, त्यो रोकियोस् भनेर सरकारलाई निर्देशन दिइसकेको छ ।


ADVERTISEMENT

# # #


यति ठूलो लाजमर्दो, भ्रष्टाचारले सीमा नाघेको छ । ७० करोडले नपुगेर त्यो भन्दा बढी घुस दिन्छु भन्नेलाई ठेक्का दिने अवस्थामा सरकार पुग्यो,  प्रधानमन्त्रीज्यू भ्रष्टाचार गर्दिनँ, गर्नपनि दिन्न भन्नुहुन्थ्यो । त्यतीले पुगेन । नेपाल ट्रस्टको जमिन, भवन जसरी यती होल्डिङ्गसलाई दिइंदैछ, अनि भनिन्छ, यस्तो विधानमा लेखेको छ, त्यही ऐनलाई प्रयोग गरेको हुँ भनेर । यती फेला पर्ने बित्तिकै भएभरको लामो सम्बन्धका आधारबाट यतिलाई दिँदै जाने, कति कति यतीलाई दिने हो त्यसको पनि टुंगो छैन । यो भन्दा लाजमर्दो के हुन्छ ?

बालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई यसरी प्रयोग गर्यो कि सर्वांग लाजलाग्दो स्थिति छ । विरोधी भए दोषि हुन् वा निर्दोष हुन् जेल जानुपर्ने । कम्युनिस्टै हुन्, तर आफ्नो गुटका होइनन् भने तिनको बद्नाम गरिने, सफाइको अर्को मौका पनि नहुने गरी थरिथरीका आक्षेप लगाउने । तर, आफ्नै गुटका भए जे लिएपनि फिर्ता गरे पुग्छ भन्ने । यो भन्दा पराकाष्ठा केही पनि हुँदैन । ‘न्यारोवडी जहाजका बारेमा विदेशी कम्पनीले भन्यो– हामीले नेपालमा सरकारी यन्त्रमा घुस दियौँ भनेर । त्यसबारे सरकार अहिलेसम्म छानबिन गर्ने बाटोमा छैन । यस्तै वाइडवडीको बारेमा संसदको लेखा समितिले अख्तियारलाई लेखेर पठायो, यसबारे एक महिनामा छानबिन गरोस् भनेर । यसबारे हामी भन्न चाहन्छौँ, अख्तियारले चाँडै अनुसन्धान सम्पन्न गरेर दोषी उपर कारबाही प्रारम्भ गरोस् ।

सञ्चार मन्त्रालय यति ठूलो भ्रष्टाचारको अखडा बन्न पुगेको छ । स्याटालाइट काण्ड होस्, ब्रोड ब्याण्ड वितरण होस्, फोजी, अप्टिकल फाइबर होस् वा टेलिकम इजाजत पत्र होस् वा चर्चित सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस प्रकरण नै किन नहोस् । पत्रपत्रिकामा आएको छ, एउटै मन्त्रालयमा खर्बौं रुपैयाँका योजनाहरु भ्रष्टाचारका लागि तयार गरिएका छन् । त्यसैले होला, राजनीतिक तुलामा राख्दा अरु सबै एकातिर, अनि सञ्चारमन्त्री अर्कोतिर ।  सरकार कुल लोनमा छ थाहा छैन । प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ, थाहा छैन ।

अब जन्मदिनबारे केही कुरा गरौँ । पूराना राजाहरुको जन्मदिनको तस्बिर केही अघि देखेको थिएँ । शैली सामान्य नै थियो । तर, जन्मदिनमा तपाईंको सत्ताउन्मात देखेर आम नागरिक दिक्दार छन्, निराश छन् प्रधानमन्त्रीज्यू । जन्मदिनको दिन प्रधानमन्त्रीको पुर्ख्यौली घर देखियो । प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष पहिलेको भन्ने सुनियो । घरको संरचना त निर्जीव होला । तर, यसले सजिव इतिहास बोकेको छ । आफ्नो आस्थाका लागि जुनसुकै संघर्ष, बलिदानी र कुरबानी गर्न तयार आफ्नै आँगनको केटोले एउटा इमानको राजनीतिक यात्रा तयार गर्यो भनेर स्वागतको अभिलाष थियो होला, त्यो घरलाई पनि । तर, जुन तामझामका साथ, चार–पाँच हेलिकोप्टर लिएर देशका, प्रदेशका अनि अन्य राज्यसंरचनाका पार्टीका विशिष्ठ व्यक्तिहरुलाई बोकेर जानुभयो ।

घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन । नयाँ महाराजा सवारी भएछ भनेर घरले सोच्यो होला । सायद त्यो घरको आत्माले तपाईंलाई चिनेन होला प्रधानमन्त्रीज्यू, तपाईंले एक निमेष त्यो घर अगाडि उभिएर एक मिनेट आफ्नो अन्तर्मनलाई सोध्नुभो ? जसअपजसको अन्तर्मनबाट चिन्तन गर्नुभो ? आफ्नो विकेकलाई टटेल्न्भो अनि आफ्नो प्रतिबिम्बलाई नियाल्नुभो प्रधानमन्त्रीज्यू ? तपाईं कुन लोकमा हुनुहुन्छ, जनता कुन लोकमा छन् ? यती होल्डिङ्गस्को हेलिकोप्टरले पुर्याएको केक देख्दा अपमानित महसुस गर्यो होला त्यो घरले । घरको इतिहासलाई त्यो घरले सम्झ्यो होला, आज नराम्रोसँग अपमानित भएँ, मेरो घरको केटोलाई स्वागत गर्नबस्दा भनेर । जन्मदिनमा चार हजार वृद्धवृद्धालाई सारी टोपी र कोट बाँड्ने कार्यक्रम थियो भन्ने सुनियो । पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने पूराना राजा महाराजाहरुलाई पनि इर्श्या लाग्यो होला प्रधानमन्त्रीज्यू !

हिजो राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । दाँतेको ‘डिभाइन कमेडी’ याद आयो । भोलिका विद्वानहरुले हाम्रो परिवेशमा नेपाली ‘डिभाइन कमेडी’ लेख्लान् । तर, आज श्री डेढ, श्री अढाई, श्री साढे सातका मान अनुरुप थरिथरिका श्रीपेज लगाएका कम्युनिस्ट आत्मजन र मित्रहरुलाई देख्दा के भन्दै होलान् मदन भण्डारी ?

अब अलिकति बाँकी कम्यूनिस्ट पार्टीको पनि कुरा गरौँ । दुई आँखा छोपिने गरी, निधार नदेखिने गरी माला लगाउने, दिनभरि घण्टौँसम्म स्वागतका लागि अवोध बालबालिका ताँती खडा गर्ने, हिजोका राजाको त्यो वैभव भन्दा भद्या नक्कलले बाँकी कम्युनिस्टलाई समेत गाँजेको छ । हिजो आफन्त गुमाउनेहरुका पीडामा नुन छर्किएझैँ भएको छ यो प्रवृत्तिले । त्यतातिर पनि स्मरण गराउन चाहन्छु । सम्मानीय सभामुखज्यूलाई यो पदमा निर्वाचित गराउने क्रममा नागरिकबाट प्रकट विरोध र अविश्वासको पनि ध्वनी थियो । त्यसलाई जित्नलाई हाम्रो सहयोग रहन्छ, तपाईंलाई । अविश्वासलाई विश्वासमा परिणत गर्नलाई सहयोग रहन्छ । त्यतातर्फ निश्चिन्त भएर बस्न म अनुरोध गर्छु । तर, फेरि सरकारको बारेमा कुरा गर्दा, हिजो सुसाशन र विकासका झुटा बाचा गरेर फाकाइएका जनताहरु आज आक्रोशित छन् । आक्रोशको डढेलो तपाईंको लोकबाट नदेखिएला । संघीय लोकतान्त्रिक गणतन्त्रले पात्र ज्ञानेन्द्र मात्र होइन, प्रवृत्तिलाई पनि बिदा गरेको हो । त्यो सम्झिँदा राजेन्द्र महर्जनले जे लेख्नुभयो, मलाई पनि त्यही याद आयो ।

कार्ल मार्क्सले भनेका छन्- इतिहास दोहोरिन्छ पहिलो पटक दुःख, पीडा र त्रासदीमा । त्यसपछि परिहासका रुपमा । प्रधानमन्त्रीज्यू, तपाईंको कम्युनिस्ट पार्टी कहाँ छ ? जनताले समीक्षा गर्दैछन् । मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, राष्ट्रिय सुरक्षा, मानव अधिकार आयोग, संवैधानिक परिषद्का विधेयकहरु संशोधन गर्ने अनि पार्टीएको झगडा व्यवस्थापन गर्न संविधान संशोधन गर्ने तपाईंको तपाईंको पाठोलाई आम नागरिकले ‘नाच्न नजान्ने आँगन टेढो’ भनेका छन् । यी सबै कुरा गर्दा निवश्त्र सम्राटको जय जयकार गर्नेलाई संसार नदेखेको कुवाको भ्यागुतो लाग्ला हाम्रा कुराहरु । थाहा छ मलाई, यी कुराहरु बोल्नु जोखिम छ । तर, हामीलाई व्यक्तिगत जोखिम ठूलो होइन ।

आज दुःख गरेर बनाएको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र जोखिममा छ । उग्र बामपन्थी र दक्षिणपन्थी पुनरुत्थानवादीहरु टाउको उठाउँदैछन् प्रधानमन्त्रीज्यू । त्यसैले चिन्ता छ, अब नबोलेर हुँदैन । त्यसैले होला, मार्टिन लुथर किंगले भनेझैं–सुरक्षित नहोला यो बोल्नु, अरिंगालको घारमा प्रहार गरेजस्तो होला यो बोल्नु । तर, विवके बोल्न छोड्दैनौँ प्रधानमन्त्रीज्यू । भोल्टेयरले भन्थे– इट इज डेन्जर्स टु बी राइट, ह्वेन गभरमेन्ट इज रङ्ग’ (त्यहाँ सही साबित हुन जाखिम छ, जहाँ सरकार नै गलत छ ।) हेक्का छ हामीलाई सरकार गलत छ । तर, हामी साँचो बाटो छोड्दैनौँ । साँचो  बोल्न छोड्दैनौँ । तपाईंलाई नागरिकको एउटा तप्का शंकाको सुविधा दिन तयार छ । धेरैको अविश्वास छ, तपाईंले आएर जवाफ दिनुपर्छ । संसदलाई विश्वासमा लिनुहोस् भन्ने माग छ । भ्रष्टाचारका यस्ता घटना हुँदैनन् भन्ने विश्वास दिलाउनुस् भन्ने माग छ ।

अनि मदन भण्डारीलाई विश्वास दिलाउनुहोस्, थरिथरिका श्रीपेच लगाएर आजको कम्यूनिस्ट सरकारले जनतामा भ्रष्टाचार गाँजेको नेपाल बनाउँदैन भनेर । मदन भण्डारीको आत्मालाई शान्ति दिने बाटो त्यही होला । प्रधानमन्त्रीज्यू, तपाईंलाई जनता एउटा शंकाको सुविधा दिन तयार छन् । त्यसैले भन्दैछन्, ‘काँधमा सवारले पो तुर्क्याएको रहेछ, तपाईंले होइन’ भनेर । तर प्रधानमन्त्रीज्यू, तपाईंको सर्वाङ्ग गन्हाउँदैछ । संसदमा आउनुहोस्, आश्वस्त दिलाउनुहोस् भ्रष्टाचार अब गर्न दिन्नौँ भनेर । संसदमा आउनुहोस्, आश्वस्त तुल्याउनुहोस् संविधान र लोकतन्त्र कसैले मिच्न सक्दैन भनेर । संसदमा आउनुहोस्, आश्वस्त दिलाउनुहोस् प्रधानमन्त्रीज्यू, समृद्धिको बाटोमा मुलुकलाई डोर्याउँछु भनेर ।

यसको जवाफदेहिता तपाईंको हो । संसदले छानेको प्रधानमन्त्री तपाईंको हो । उत्तरदायित्व तपाईंको हो । त्यसैले हामीले भन्यौँ, प्रधानमन्त्री आउनुपर्छ, जवाफ दिनुपर्छ । आज पनि संसदको कारबाही यसर्थमा अगाडि बढाउने बाटोमा हामी पुगेका हौँ कि प्रधानमन्त्री यी सबै जिम्मेवारीबाट बाहिर जान चाहनुहुन्न । नागरिकको चाहना यही हो । यही चाहना अनुरुप प्रधानमन्त्रीले संसदलाई आश्वस्त गर्नुहुन्छ भन्ने विश्वासका साथ संविधानमाथिको, लोकतन्त्र माथिको जोखिमलाई संगै मिलेर, लडेर सामना गर्ने बाटोमा देशलाई लिएर हिंड्नुहुन्छ भन्ने विश्वासका साथ संसद अब सुचारु रुपले अगाडि बढाउन हामी तयार भएका छौँ । धन्यवाद ।

(नेपाली कांग्रेसका सांसद रिजालले मंगलबार प्रतिनिधिसभा बैठकमा राखेको धारणामा आधारित)