काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको एकल आयोजनामा बुधबार चलचित्र सेन्टी भाईरस प्रदर्शन गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग स्वरुप महासचिव सिटौला र उनकी धर्मपत्नी पध्मा सिटौलाको पहलमा राजधानीको आईएनआई सिनेमा हलमा सो चलचित्रको बिशेष प्रदर्शन गरिएको हो ।


ADVERTISEMENT


सो अवसरमा सिटौला दम्पत्तिद्वयले रंगशाला निर्माणका लागि कलाकार सिताराम कट्टेललाई १ लाख १ सय ११ नगद सहयोग समेत हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


महासचिव सिटौलाले छोरा बिराट सिटौलाको सम्पन्न हुन लागेको ब्रतबन्ध कार्यक्रमको खर्चबाट कटौती गरी राष्ट्रिय गौरवको रंगशाला निर्माणका लागि सो सहयोग गरिएको जानकारी दिए ।

देशकै गौरवका रुपमा कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा चितवनको अन्तराष्ट्रिय रंगशाला निर्माणमा सबै नेपालीहरुको जिम्मेवारी रहने बोध गरेर आँफुले सहयोग गरेको उनले बताए ।

”छोराको ब्रतबन्धमा हुने खर्चलाई रंगशाला निर्माणमा लगाएर समुन्द्र सरहको धुर्मुस सुन्तलीको बिशाल अभियानमा एक थोपा भए पनि पानी मिसाउने हामी श्रीमान श्रीमतीले जमर्को गरेका छौं” महासचिव सिटौलाले भने ”यही रंगशालामा यो देशका छोराछोरीहरुले क्रिकेट खेलेर नेपालको नाम बिश्वभर रोशन गरुन ।”

रंगशाला निर्माणका लागि सहयोग गरेकामा कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेलले सिटौला दम्पत्तिलाई धन्यवाद दिँदै आगामी ४ महिना सम्ममा रंगशाला तयार हुने जानकारी समेत दिएका छन् । उनका साथमा सन्दिप क्षेत्री, बुद्धि तामाङ लगायतका कलाकारहरु समेत सो अवसरमा उपस्थित भएका थिए ।

चलचित्र प्रदर्शनको अवसरमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल तथा उनकी श्रीमती साहित्यकार बिन्धु ढकाल, यातायात ब्यवस्था बिभागका महानिर्देशक गोगन बहादुर हमाल , चर्चित चलचित्र झोलाका निर्देशक यादबकुमार भट्टराई, अमेरिकन बोर्ड अफ एनएलपीबाट नेपालका एकमात्र आधिकारिक प्रशिक्षक गोबिन्द ज्ञवाली, अभिनेतृ तथा सामाजिक अभियन्ता सुस्मा कार्की लगायत प्रशासनकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कला तथा चलचित्रकर्मी, यातायातकर्मी लगायतको ठूलो जमघट रहेको थियो ।

यातायात पेशामा दशकौं बिताएका महासचिव सिटौला सामाजिक क्षेत्रहरुमा समेत उत्तिकै सक्रिय छन् ।