काठमाडौँ– महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा घाइते भएका नेकपा(माले)का महासचिव चन्द्रप्रकाश (सीपी) मैनालीको उपचारका लागि काठमाडौँ ल्याइएको छ ।


ADVERTISEMENT


टाउको र खुट्टामा गम्भीर चोट लागेका नेता मैनालीलाई थप उपचारका लागि बर्दिवासबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँको धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटल ल्याइएको हो । दुर्घटना लगत्तै उनलाई बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्याइएको थियो ।


ADVERTISEMENT

# # #


नेता मैनाली  परिवारसहित गृह जिल्ला झापाबाट बिहीबार काठमाडौँ आउँदै थिए । महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा नेता मैनाली चढेको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किएको थियो । दुर्घटनामा परी नेता मैनाली, उहाँका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

घाइते पाँचैजनामध्ये नेता मैनाली र उनकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उनी केही दिनअघि झापा गएका थिए ।