– बिन्दु अधिकारी (ढकाल)

समय ! आज यतिकाबेर खर्चेर
पर्खिँदा पनि प्रिय
आखिर किन तिमीले
यति ढिलोसम्म पनि फोन गरेनौं
चाहेर हो या नचाहेर
सामुन्ने हाजिर भएनौ ।


ADVERTISEMENT


तैपनि,
पर्खिरहें–कुरिरहें
तिम्रो प्रतीक्षामा बाटो
पर–पर क्षितिज पारीसम्म नयनहरु
एकोहोरो भएर आशा पलाई रहें ।


ADVERTISEMENT

# # #


थोपा आँशु
कतै नखसाईकन
परेली नभिजाइकन
आशाको दियो
उमंगले बलेझैं
सधै तिमीलाई नै सम्झेर पर्खें ।

नबजेपछि टेलिफोन
भरोसा पनि
ढलपल ढलपल
डुब्दै गरेको घामजस्तै
नासिँदै गएको समय
सजाय हो यात भासिदो दिनचर्या ?

हेर्दा,
कुर्दा र पर्खिंदा
सबै लथालिङ्ग
सम्झना पनि गयो खेर
नपत्याए,
बेहाल बेहाल भएको छु हेर !

सूचना प्रविधिको आयाम
बिछट्टै छट्पटीको यो जीवन
यसपारा ज्यान
धैर्य पालौं कतिञ्जेल
यही हुर्मतले
अधैर्यपनि कतिसम्म बनौं र बाचौं ?