नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले सदस्यता नवीकरणका लागि केन्द्र (बुथ) नै स्थापना गरी अभियान चलाएको छ ।


ADVERTISEMENT


पार्टीको केन्द्र र प्रदेशको निर्देशन तथा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअनुसार शनिबारदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको नेकपा पश्चिम नवलपरासीले जनाएको छ ।


ADVERTISEMENT

# # #


अभियानअन्तर्गत चैत महिनाभरि सदस्यता नवीकरण गरिने जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले राससलाई जानकारी दिए। सदस्यता नवीकरणका लागि जिल्लाका सातवटै स्थानीय तहमा गरी कूल ३८ केन्द्र निर्धारण गरिएको छ । उनका अनुसार सुनवल नगरपालिकामा ११, बर्दघाट नगरपालिकामा ११, रामग्राम नगरपालिकामा सात, प्रतापपुर गाउँपालिकामा तीन, सरावल, पाल्हीनन्दन र सुस्ता गाउँपालिकामा दुई-दुई केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा जिल्ला सचिवालय सदस्यको संयोजकत्वमा कार्यदल बनाइएको छ ।

सोही कार्यदलमार्फत जिल्लामा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान शुरु गरिएको अध्यक्ष तिवारीले बताए । हाल महामारीका रुपमा देखिएको कोरोनाको जोखिमका कारण ठूला सभा, सम्मेलनभन्दा सदस्यता अद्यावधिक र कोरोना सचेतना कार्यक्रम लिएर कार्यकर्तामाझ जान थालिएको उनले बताए।

यही चैत १ गतेदेखि शुरु भएको अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । पार्टीले नेता, कार्यकर्ता र सङ्गठित सदस्यको योजनाबद्ध परिचालन गर्न विशेष अभियान चलाएको जिल्ला सचिव तुलसी पासीले जानकारी दिए । कोरोना भाइरसका सम्भावित जोखिमका कारण सरकारले सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेकाले अभियानको स्वरुप परिवर्तन गरिएको बताउँदै उनले भने, “पार्टी एकता, सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानअन्तर्गत समस्त पार्टी पङ्क्तिको एकीकृत परिचालनका लागि पार्टीको केन्द्रीय निर्देशनअनुसार यो अभियान शुरु गरिएको हो ।”

अभियानको मूल नारा ‘समृद्ध नेपाल सुखी नेपाली’को आधार सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार तय गरिएको छ । अभियानअन्तर्गत पार्टीको सुदृढीकरण, जनसम्बन्ध विस्तारसँगै जनता र पार्टी कार्यकर्तालाई कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतना पनि सँगसँगै थालिएको प्रदेश कमिटी सदस्य बृहस्पति अधिकारीले बताए । जिल्ला सचिव पासीका अनुसार चैतभरि पार्टी सदस्यता अद्यावधिक अभियान सञ्चालन हुनेछ । साबिक एमाले र माओवादी केन्द्रका गरी जिल्लामा करीब बाह्र हजार सङ्गठित सदस्य रहेको अनुमान छ ।

नेकपाले २०७७ साल वैशाख र जेठ मसान्तसम्ममा घरदैलो, पदयात्रा, टोल भेला र टोलसभा गर्नेछ । जेठ महिनाको तेस्रो सातामा स्थानीय तहस्तरमा र्यालीसहित जनसभा गर्ने तथा अन्तिम सातामा जिल्लास्तरको र्यालीसहितको जनसभा गर्ने सचिव पासीले बताए । अभियानका क्रममा पार्टी, पार्टी एकता, पार्टी नेतृत्व र नेकपाको सरकारलाई कमजोर बनाउन भएका सबै प्रकारका गतिविधि र षड्यन्त्रको प्रतिवाद गर्ने नेकपाले योजना बनाएको छ ।

अभियानका विषयमा सूचना अभिलेख र प्रवाह गर्न जिल्ला कार्यालय सदस्य अगवीर विक अडिगको संयोजकत्वमा जिल्ला सूचना डेस्क पनि स्थापना गरिएको छ । रासस