काठमाडौँ – गत वर्षको डिसेम्बर अन्तिम साता चीनको उहान सहरमा पहिलो पटक देखिएको श्वास प्रश्वाससम्बन्धी रोग कोरोना भाइरस (कोभिड -१९) अहिले विश्व महामारीका रुपमा फैलिएको छ ।


ADVERTISEMENT


उद्गम स्थल उहानमा कोरोनाको संक्रमण केही कम भए पनि युरोप यसको ‘इपीसेन्टर’का रुपमा देखा पर्दैछ । त्यसमा पनि इटालीको अवस्था भयानक र दर्दनाक छ । १८८ वटा देशमा फैलिएको कोरोना अहिले विश्वकै टाउको दुखाईको विषय बनिरहेको छ । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वैश्विक महामारी भन्दै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडाअनुसार अहिलेसम्म कोरोना भाइरसबाट विश्वभर तीन लाख बढी मानिस संक्रमित भएका छन् । जसमध्ये १३ हजार बढीले ज्यान गुमाइसकेका छन् भने ९५ हजार बढी निको भएर घर फर्किएका छन् । अहिलेपनि झण्डै २ लाख मान्छेहरु संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये झण्डै १० हजारको अवस्था गम्भीर छ ।  इटालीमा विश्वकै सबैभन्दा बढी ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । यस्तै चीनमा कोरोनाका कारण ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिले कारोना देखिएको छैन । एक महिनाअघि कोरोनाबाट संक्रमित एकजना भटिए पनि उनी उपचारपश्चात निको भएर घर फर्किएका छन् । यद्दपी यसले नेपाललाई पनि प्रभावित पारेको छ । कोरोनाको संक्रमणको सन्त्रासकै कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालय लगायतका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । सम्पूर्ण सिनेमा हल, जिम सेन्टर, स्वीमिङ पुल लगायतका भीडभाड हुने सार्वजनिक स्थलहरु बन्द गरिएको छ । २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन, अनावश्यक बाहिर हिंडड्ल नगर्न आग्रह गरिएको छ ।

पछिल्लो भारतमा पनि कोरोना संक्रमण फैलिएकाले रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरु घर फर्किन थालेका छन् । भारतसँगका सीमा नाकाहरुमा चेकजाँचको अवस्थामाथि प्रश्न उठिरहँदा कोरोना कुनैपनि बेला नेपालमा फैलिनसक्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

संक्रमणबाट बच्नका लागि कोरोनाबारे सही सूचना लिन आवश्यक छ । सरकारले जारी गरेका नीति, निर्देशन र आग्रहहरुलाई यतिबेला सम्पूर्ण नागरिकले पालना गर्नुपर्नेबेला आएको छ ।

पछिल्लो समय तीव्र रुपमा संक्रमण बढीरहेको यो भाइरसले निमोनियाको संक्रमण देखाउँछ । त्यो लम्बिएमा बिरामीको मृत्यु समेत हुनेगर्छ । यो भाइरसको जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन डाक्टरले सल्लाह दिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाबारे जारी गरेका लक्षण, बच्ने उपायहरुलाई तल प्रस्तुत गरिएको छ ।

कारोना भाइरसका लक्षण

कोरोना भाइरसको लक्षण स्वाइन फ्लूको जस्तै हुन्छ । यसको संक्रमण भएमा निम्न लक्षण देखिन्छन् ।

१. स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न हुनु,
२. खोकी लाग्नु, घाँटी खसखस हुनु,
३. टाउको दुख्नु,
४. ज्वरो आउनु,
५. मिर्गौलामा समस्या पैदा हुनु,
६. निमोनिया हुनु  ।

कोरोना भाइरसको संक्रमण सुरुवमा ज्वरो आएर हुने गर्छ । त्यसपछि सुख्खा खोकी लाग्ने गर्छ र यो स्थिति हप्ताभरि जारी रहन्छ । त्यसपछि श्वास प्रसासमा समस्या हुने, टाउको दुख्ने लगायतका समस्याहरु देखा पर्छन् ।

बच्ने उपाय

विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई यस संक्रमणबाट बच्नका लागि आग्रह गरेको छ । त्यसका लागि विश्व स्वास्थ्य संगठनले केही उपायहरु बताएको छ । जुन निम्न छन् ।

१. दिनमा पटकपटक कम्तीमा २० सेकेण्ड साबुन पानीले हात धुनुहोस् ,
२. हाच्छ्यूँ गर्दा कपडा वा ‘टिस्यू पेपर’ले मुख छोप्नुहोस्, यदि टिस्यू पेपर वा कपडा छैन भने हात होइन पाखुराले छोप्नुहोस् ।
३. बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुहोस् ।
४. सार्वजनिक ठाउँमा सावधानी अपनाउनुहोस् ।
५. रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहनुहोस् ।
६. घरेलू र जंगली जनावरको सम्पर्कबाट टाढा रहनुहोस् ।
७. मासुजन्य परिकार राम्रोसँग पकाएर मात्रै खाने ।
८. भाइरससम्बन्धी केही संकेत देखिएमा तुरुन्त अस्पताल जानुहोस् ।

डाक्टरका लागि सल्लाह

विश्व स्वास्थ्य संगठन कोरोना भाइरसलाई महामारीको संज्ञा दिएको छ । जसको मतलब यो संक्रमण जुनसुकै व्यक्तिलाई हुनसक्छ । यसको रोकथामका लागि विश्वस्वास्थ्य संगठनले अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीका लागि विशेष सल्लाह दिएको छ ।

१. संक्रमित बिरामीलाई अलग राख्नुहोस् र उनीहरुको गतिविधिलाई नियन्त्रण गर्नुहोस् ।
२. मेडिकल मास्क, पञ्जा र गाउन अनिवार्य पहिरिनुहोस्, आँखाको सुरक्षाको पनि ख्याल गर्नुहोस् ।
३. बिरामीसँगको सम्पर्कमा आएपछि उपकरणलाई सफा गर्नुहोस् ।
४. बिरामीसँगको सम्पर्कमा आएपछि साबुन पानीले हात अनिवार्य धुनुहोस् ।

(पहिलो पटक जनवरीमा ३० मा प्रकाशित यो समाचारलाई केही अद्यावधिक गरी पुनः प्रकाशित गरिएको हो ।)