मुगु – कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन यहाँका स्थानीय तहले कोरोना विरुद्घका कामलाई तीव्रता दिएका छन् ।


ADVERTISEMENT


हालसम्म जिल्लामा सो भाइरसको आशंका एकजनामा पनि देखिएको छैन । जिल्लाका चारवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा १६७ वटा श्ययाको क्वारेन्टाइन तयार गरेका छन् । जिल्ला अस्पताल मुगुमा सात श्ययाको आइसोलेशन कक्ष तयार पारिएको छ ।


ADVERTISEMENT

# # #


सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीका अनुसार छायाँनाथ रारा नगरपालिकाले महाकाली माविमा २१, जिल्ला अस्पातालले ३५, खत्याड गाउँपालिकाले झुगलामा ३५, सोरु गाउँपालिकाले तारापानीमा १० र मुगुम कार्मारोङ्क गाउँपालिकाले छाइल विद्यालय ३० र रिउस बगरमा रहेको सामुदायिक अस्पतालमा ३० श्यया क्वारेन्टाइनका लागि तयार गरेका छन् ।

उनका अनुसार हाल खत्याडमा तीन र तारापानीमा दईजना भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका अन्य स्थानीयको खोजी र यकिन गरी उनीहरुलाई पनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ जनाइएको छ । अहिले स्थानीय तहले आफ्ना क्षेत्रमा अन्यत्रबाट आएका स्थानीयको खोजी र तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेका छन् ।

स्वास्थ्य संस्थामा सङ्घीय तथा प्रदेश सरकारबाट स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध नहुँदा स्थानीय तहले स्थानीय रुपमा तयार पारेका प्लास्टिकका एप्रोन तयार गरी सेवा दिइराखेका छन् ।

दिनहुँ स्वास्थ्य चौकी एवं हेल्थ डेस्कमा मानिस स्वास्थ्य जाँच गर्न आउँछन् । स्थानीय रुपमा प्लास्टिकका एप्रोन बनाइ अन्यत्रबाट आएकाको जाँच गरेको छौँ खत्याड गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक हरिबहादुर बढाले बताए । मुगुम कार्मारोङ्ग गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पनि पिपिई उपलब्ध नभएपछि प्लास्टिककै एप्रोन बनाइ चेकजाँच गर्दा लगाउने गरेका छन् । रासस