एजेन्सी- आगामी नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्टसंघीय संरचना महासन्धि (यू एन एफ सीसीसी) का पक्ष मुलुकहरुको २६ औं सम्मेलन कोप २६ कोरोना संक्रमणका कारण स्थगित भएको छ । जर्मनीको बोनमा मुख्यालय रहेको यूएनएफसीसीसीको कोप ब्युरोले यो निर्णय गरेको हो ।


ADVERTISEMENT


गत मंसिरमा स्पेनको म्याड्रिडमा भएको २५ औं जलवायु सम्मेलनले २६ औं सम्मेलन ग्लास्गोका लागि तय गरेको थियो । कोप २६ को मिति तोकिएको छैन । कोरोना संक्रमणले विश्व नै अक्रान्त भएपछि करिब ३० हजार मानिस सहभागी हुने सो सम्मेलन स्थगित गर्नुपर्ने माग उठेको थियो । कोप २६ को स्थल तोकिएको स्कटीस इभेन्ट्स क्याम्पसलाई कोभिड १९ का बिरामीको अस्थायी अपतालमा रुपान्तरण गरिएको छ । कोभिड १९ का कारण बेलायत समेत आक्रान्त बनेको छ ।


ADVERTISEMENT

# # #


कोप २६ का लागि अध्यक्ष रहेका अलोक शर्माले विश्वले अभूतपूर्व चुनौतीको सामना गरिरहेको र सबै देशहरूले कोभिड १९ बाट जीवन बचाउने लडाई लडिरहेकाले सम्मेलन स्थगित गरिएको बताउनुभएको छ । यूएनएफसीसीसीकी कार्यकारी सचिव प्याट्रिसिया एस्पिनोसाले कोभिड १९ ले मानव जातिका लागि सबैभन्दा जोखिमपूर्ण खतरा उत्पन्न गराएको भन्दै २१ औं शताब्दीलाई सफा, हरियाली, स्वस्थ, न्यायिक, सुरक्षित र बढी लचिलो बनाउने अवसरका रुपमा लिन विश्वका नेतृत्वलाई सुझाउनुभएको छ ।