काठमाडौँ — कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गरिएको छ । खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बिक्री बन्द गरिएको हो ।


ADVERTISEMENT


यसअघि समितिले चैत १६ देखि थोक र होलसेल बिक्रीका लागि बिहानको २ देखि ७ बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरिएको थियो ।


ADVERTISEMENT

# # #


समय निर्धारण गर्दा भीड बढेपछि खुद्रा बिक्री बन्द गर्ने निर्णय भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘सांसद, वडाध्यक्ष, सेना र प्रहरीका प्रतिनिधि, व्यापारिक संघसंस्थासहित शुक्रबार भएको छलफलमा खुद्रा बजार र किसान बजार बन्द निर्णय भयो,’ श्रेष्ठले भने, ‘कालिमाटी परिसरमा रहेको खुद्रा बजार बन्द हुने भएकाले पैदल यात्री एवं फुटकर उपभोक्तालाई बजार प्रवेशमा रोक लगाइएको छ ।’

समितिले थोक खरिद गरी कृषि उपज लिन आउने चारपांग्रे ढुवानी साधनलाई मात्रै प्रवेश दिइने जनाएको छ । मोटरसाइकल र साइकल प्रयोग गरी खरिद गर्न आउने व्यवसायी उपभोक्तालाई आ- आफ्नो क्षेत्रमा रहेका तरकारी र फलफूलजन्य पसलबाट किन्न पनि समितिको आग्रह छ ।

तरकारी आयातमा अवरोध भने नरहेको समितिको भनाइ छ । तर खुद्रा बजारमा भने तरकारी अभाव छ ।