– डा. रूद्रनाथ अधिकारी, पंडित ज्योतिषाचार्य


ADVERTISEMENT


आफैलाई सर्वेसर्वा ठान्न थालेको मानिसलाई कोरोनाले यथार्थको बोध गराएको छ। मानिसलाई सृष्टिको सर्वश्रेष्ठ प्राणीको रुपमा भगवानले जन्म दिएर पठाउनुभएको छ, सतकर्म गर र सम्पूर्ण प्राणीहरुको हित र कल्याण गर भनेर । तर, आजको मानिसले आफ्नो धनबल, अस्रबल र वाहुबलको घमण्डमा आफुलाई सर्वेसर्वा ठानिसकेको थियो ।


ADVERTISEMENT

# # #


धर्म, कर्तव्य, संस्कार र संस्कृतिलाई लातमारिसकेको थियो । मानवीय धर्म र कर्तव्यलाई बिर्सिसकेको थियो । कोहि कसैको अस्तित्वलाई स्विकार्न र मान्न तयार थिएन । माया, दया, करुणा र परोपकारको खिल्ली उडाइरहेको थियो । पद प्रतिष्ठा र कुर्सीको आडमा आफुले आफैलाई विधाता भन्दा सानो र तल ठानेको थिएन ।

भुगोलदेखि खगोलसम्म, जलदेखि अन्तरीक्षसम्म आफ्नो आधिपत्य जमाउने होडमा थियो मानिस । सायद सृष्टिको रचनाकारलाई यो मन्जुर थिएन । त्यसैकारण ईश्वरलाई मानव जातिको यो घमण्ड, अहंकार र दम्भलाई तोड्दै उसको यथार्थ र अस्तित्वको बोध गराउनु थियो । एउटाले अर्काको पिडा, दुःख र दर्दमा सहानुभूति राख्न त परैजाओस् क्षणिक ऐस, आराम र भौतिक सुख साधनको लागि लुट्न, ठग्न मार्नसम्म पछि परेको थिएन यो मानिस । विज्ञान र प्रविधिको घमण्ड थियो । विनाश र विध्वंशकारी हतियारको होडमा चलेको थियो दुनियाँ । तर, आज बन्द कोठामा आफैले आफैंलाई बन्धक बनाएर किंकर्तव्याभिमुढ भएर आफ्नो अस्तित्वलाई नियालिरहेको छ उही मानिस । आज नराम्रो संग हारेको छ र पराजित भएको छ । विचरा ! प्रतीत भएको छ मानिस ।

हिजोसम्म अर्को निरीह प्राणीको प्राण हरण गरेर उसको मृत शरीरका टुक्रा पारेर आफ्नो शरीरको पोषण गरिरहेको मानिस, स्वयं आज कुनै अदृश्य शक्तिसँग आफ्नो प्राणको भिख मागिरहेको छ । सृष्टिकर्ता र रचनाकार मौनताकासाथ आफ्नो अस्तित्वको महसुस गराईरहेको छ र बोध गराउन चाहिरहेको छ कि हे मूर्ख मानिस ! तँ त केवल कर्ता मात्र होस् । कारण त अरु कोहि छ । न तेरो हतियार शक्तिशाली छ, न तेरो धनमा त्यो तागत छ, न तँ सर्वशक्तिमान होस् मेरो अगाडि । आज तेरा सारा श्रोत, साधन र शक्ति निष्क्रिय छ, निरर्थक छ । भनिरहेकोछ, अब त सोच र पहिचान आफुलाई र स्वीकार कि तँ भन्दा माथि अरु कोही छ र कसैको अधीनमा छ्स् तँ। तर, अझैं सहजै स्वीकार्न तयार छैन आजको मानिस।

प्रकृतिले यो कोलाहलमा आफ्नो मौनता साँधिरहेको छ। हजारौं प्राणीहरुको चीत्कार रोकिएको छ। धर्तीबाट विस्तारै रगत ओभाउँदै छ । केहिदिनको लागि हतियारले विश्राम पाएका छ्न् चाहे पड्किने होउन् चाहे झड्किने । वायुमण्डलमा सुदृढीकरण भएको छ । मृत्युले पर्म तिर्दैछ जस्तो आभास हुँदैछ। आज न तेरो छ न मेरो छ।

अन्तिममा भन्न चाहन्छु, यो सन्नाटामा मेरा देशका गिद्द, व्वाँसा र स्यालहरु सिनोको खोजीमा यहि मौका छोपेर सल्वलाईरहेका छन्, आर्यघाट र चिहानको वरिपरि पेट भर्नको लागि । यिनलाई सायद महसुस नै छैन कि मेरो जिन्दगी पनि आधा अजिङ्गरको मुखमा पसिसकेको छ । अब त मेरो अगाडि आएका झिंगा भुसुनाको ज्यान लिन छोडु भनेर । सायद यिनको चेतनाले यति पनि सोच्न भ्याएन जस्तो लाग्छ कि आर्यघाटको चिताले मेरो प्रतीक्षा गरिरहेको छ र अबको अगिल्लो पालो मेरै हो भनेर। धिक्कारछ मनुवा तँलाई…।