काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा)ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा थप कडाई गर्नुपर्ने बताएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै राजपाका संयोजक शरदसिंह भण्डारीले लकडाउनलाई अझ प्रभावकारी बनाउनका लागि छिमेकी देशसँगका नाकाहरुमा कडाई गर्नुपर्ने सुझाव दिएका हुन् ।


ADVERTISEMENT


लकडाउनको समयसीमा बढएर वैशाख १५ गतेसम्म पुर्‍याउने सरकारको निर्णयको स्वागत गर्दै संयोजक भट्टराईले त्यसलाई थप प्रभावकारी बनाउन दुबै देशसँगका सीमा नाकामा निगरानी बढाउनुका साथै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढिरहेकाले खुला सिमानामा अझ निगरानी बढाउनु पर्छ । त्यसका लागि व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरी आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।’


ADVERTISEMENT

# # #


यस्तै संयोजक भण्डारीले लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरी हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ–आफ्नो जिल्लातर्फ गइरहेकोले गाउँहरुमा सन्त्रासको वातावरण सिर्जना भएको भन्दै यसबारे सरकार गम्भीर भएर उचित समाधान खोज्नुपर्ने बताएका छन् । उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तिनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्ने उनले माग गरेका छन् ।

देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन नसकेको भन्दै संयोजक भण्डारीले सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्ने बताएका छन् ।

यस्तै उनले महामारीबाट जोगिन सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भएकोले लक डाउनको नियमहरु जिम्मेवारीका साथ पालना गर्न सबैलाई आग्रह गरेका छन् ।