शर्मिला पाठक, काठमाडौँ – कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन ।


ADVERTISEMENT


गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनःनिर्माणको काम गरिरहेका थिए । काममा खटिएका धेरै नेपाली थिए भने २० जना मात्र बङ्गाली रहेका थिए । सप्तरी र दाङका नेपाली कामदारले विभिन्न किसिमबाट घर जाने मेसो मिलाए पनि बंगाली कामदारलाई घर जान समस्या भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षितरुपमा उनीहरुलाई काम गराउन दिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


ती कामदारले अहिले जगभन्दामुनि पिल्लर राख्ने काम (माइक्रो पाइल) गरिरहेका छन् । उनीहरुका लागि खाने र बस्ने व्यवस्था भने निर्माण व्यवसायीले गरिदिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए। प्रमुख मानन्धरका अनुसार दश तलाको ढलान भएसँगै हाल धरहराको ३८ प्रतिशत काम सम्पन्न भइसकेको छ । यी काम सकिँदा रु ९६ करोड सकिएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । सोही समयमा प्रधानमन्त्रीले धरहरामा इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण गर्ने बताएका थिए । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले बताएको छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछन् । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्ट्रक्सनले निर्माण शुरु गरेको धरहरा निर्माणमा रु तीन अर्ब ४८ करोड लागत लाग्ने बताइएको छ । धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारीसाधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो । ऐतिहासिक धरोहर सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको हो ।

तत्कालका लागि गोश्वारा हुलाक कार्यालय रहेको भवन अन्यत्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको र अबका तीन महिनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रासस