काठमाडौं। लकडाउनको अवधि लम्बिँदै जाँदा मानिसहरु घरभित्रै थुनिएर बस्दा बोर हुने भन्दै मदिरा व्यवसायीहरुले निश्चित समयका लागि पसल खोलिदिन माग गरेका छन्। मदिरा व्यवसायीहरुले सातामा एक वा दुई दिन निश्चित समयका लागि मदिरा पसल खोलिदिन प्रस्ताव राखेका हुन्।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशमा लकडाउन गरेको छ। लकडाउनका कारण अत्यावश्यक बाहेक सबै सेवा ठप्प छ। खाद्यान्न तथा तरकारीका पसलहरु केही समय खोल्न दिइएको छ। तर अत्यावश्यक वस्तुमा नपर्ने मदिरा पसलहरु भने बन्द छ।


ADVERTISEMENT

# # #


मदिरा व्यवसायी संघ काठामाडौंका अध्यक्ष गोविन्द बराल हप्तामा कम्तीमा एकदिन निश्चित मापदण्डमा खुला गर्ने उपायबारे आफूहरु छलफल गरिरहेको बताउँछन्।अनुमति लिएर खोल्न पाउनुपर्ने हाम्रो माग हो, उनले भने।

मदिराले थोरै भए पनि तनाव घटाउने भन्दै व्यवसायीहरुले लुकिछिपी बिक्री भइरहेकाले आधिकारिक रूपमै खोलिदिए किनबेच सहज हुने दाबी उनले गरे।

लगातारको लकडाउनले बोरु भएका सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले निश्चित समयका लागि मदिरा पसल खोल्न दिनुपर्ने उनको सुझाव छ।

उद्योग वाणिज्य संघ काठमाडौंका कार्यसमिति सदस्य समेत रहेका बराल भन्छन्-“मानसिक तनाव भएको यस्तो समयमा मदिराले राहत दिने भए पनि समाजले यसलाई सकारात्मक रूपमा लिँदैन”। लकडाउनमा घरमै बसिदिँदा राम्रो हुन्छ भन्ने नै हाम्रो पनि धारणा हो। तर लुकिछिपी किनबेच गर्नुपर्ने अवस्था आउनुभन्दा सीमित समय तोकेर खुला गर्न पाए हुन्थ्यो।

उनले लामो समय लकडाउन लम्बिँदै जाँदा सामाजिक दूरी कायम गरेर हप्ताको एक दुई दिन बिक्री गर्न दिन प्रस्ताव समेत गरे। उनले यसबारे सरोकारवालाहरुसँग अनलाइन भिडियोमार्फत छलफल गरिरहेको जानकारी पनि दिए।

अल्कोहलबाट स्यानिटाइजर बन्ने भएपनि मदिरा व्यवसायीहरुले स्यानिटाइजर उत्पादनको कुनै योजना नबनाएको उनको भनाई छ।