काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएका दुइटा अध्यादेश फिर्ता लिनुपर्ने अडान  राखेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गलत समयमा गलत ढंगले सरकारले अध्यादेश ल्याएकोले फिर्ता लिनुपर्ने बताएको हो।


ADVERTISEMENT


सभापति देउवाले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएर छलफल गरेका हुन्।


ADVERTISEMENT

# # #


‘नियोजित खेल खेल्ने योजनासाथ सरकारले अध्यादेश ल्याएको हो,’ बैठकपछि पत्रकारहरूसँग प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधानको मर्मविपरीत अध्यादेश फिर्ता लिन दवाव दिन्छौं। सार्वजनिक अपिल गर्छौं।’

उनले सडकबाट अहिले दवाव सिर्जना गर्न नमिल्ने पनि बताएका छन्। ‘भातृ तथा शुभेच्छुक संगठनबाट विरोध हुन्छ। सामाजिक सञ्जालबाट पनि विरोध गर्छौं। सबै राजनीतिक दललाई यसबारे गम्भीर बन्न पनि आग्रह गर्छौं,’ शर्माले भने।

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मङगलबार बसेको पदाधिकारी बैठक । तस्वीर : रासस

कांग्रेसले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएको छ। राष्ट्रपतिले परामर्श नगरी अध्यादेश अनुमोदन गरेकोबारे बैठकमा छलफल भएको थियो। ‘राष्ट्रपतिले कुनै छलफल वा परामर्श नगरी समय नलगाइकन, उहाँले हठात् तत्कालै प्रमाणीकरण पनि गर्नुभएको छ,’ प्रवक्ता शर्माले भने। सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धीका दुइटा अध्यादेश सोमबार मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाएको थियो। अध्यादेश राजपत्रमा प्रकाशितसमेत भइसकेका छन्।

कोरोनाभाइरस महामारी संकटका बेला नियोजित खेल खेल्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको ठहर छ। ‘सरकारले हिजो जारी गरेका दुइटै अध्यादेश कोरोना संत्रास लड्नेसँग सम्बन्धित छैन,’ प्रवक्ता शर्माले भने, ‘लकडाउनका बेला जनता घरमा छन्, यस्तो बेला सरकारको यो खेलप्रति कांग्रेस गम्भीर छ।’

कांग्रेसले दुवै अध्यादेश फिर्ता लिन पनि आग्रह गरेको छ। ‘अहिलेको यो प्रकारको खेलमा हाम्रो पार्टी गम्भीर छ। दुइटै अध्यादेश फिर्ता लिनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘नियोजित योजनासाथ सरकारले कर्म गर्‍यो भन्ने हाम्रो ठहर छ।’