नारायण ढुङ्गाना, काठमाडौँ – सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ ।


ADVERTISEMENT


सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने सङ्केत गर्दै त्यसका लागि मुलुकको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याए । सिंहदरबारमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


“लकडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठिक ठाउँमा छन् की छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ”, मन्त्री डा खतिवडाले अगाडि भने, “नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ की छैन, यी यावत कुरा हेरेर जोखिम मुक्त छौँ भनेपछि मात्रै खोल्ने हो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै मन्त्री खतिवडाले थपे, “जीवन रक्षा नै पहिलो कुरा हो, अर्थतन्त्रमा पर्ने क्षति र अन्य क्षति त हामी पछि पनि उकास्न सक्छौँ, जीवन रक्षाका लागि लकडाउनको अवधीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहे बढाउनुपर्छ ।” उनले लकडाउन लम्बिदै गर्दा जीवनलाई चाहिने न्यूनतम आपूर्तिजन्य कुरालाई परिपूर्ति गर्न केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको प्रष्ट्याए।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण समयमै अन्तरराष्ट्रिय आवागमन, सीमा नाका बन्द गरेर काम गरिएको उनले जानकारी गराए । नेपालले एक पक्षीय ढङ्गले लकडाउनको निर्णय नगरिएको उल्लेख गर्दै उनले लुकिछिपी आउने क्रम नरोकिँदा यती धेरै सङ्क्रमण हुने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । गत महिना आजकै दिन सरकराले अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने गरी लकडाउनको आदेश जारी गरेको थियो ।

नीति तथा कार्यक्रम र बजेट : अल्पकालीन र मध्यकालीन योजनाका साथ ल्याइने

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट अलपकालीन र मध्यकालीन योजनाका साथ ल्याउने भएको छ । कोरोनाको असरलाई न्यूनीकरण गर्न उत्पादनका तथा आपूर्तिका शृङ्खलालाई कसरी जोड्ने र मानिसको जीवनलाई उकुसमुकुस हुनबाट सहजस्थितिमा कसरी लैजाने भन्ने योजना नै सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।

लकडाउनका कारण आवागमन बन्द हुँदा निर्माण, उद्योग, व्यापार तथा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकारले अल्पकालीन र मध्यकालीन योजना बनाउने जानकारी दिँदै मन्त्री डा खतिवडाले भने, “त्यसलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत हामी सम्बोधन गर्छौँ, तत्कालै गर्ने र अरु केही थप गर्नुपर्ने भयो भने आगामी मन्त्रिपरिषद्को बैठकबाट हुनेछ ।”

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन कठिन अवस्था छ । कोभिड–१९ को जोखिम रोक्न चालेका जीवन रक्षा सम्बन्धीको कदमले अर्थिक क्रियाकलापमा प्रतिकुल प्रभाव परिरहेको छ । एकातर्फ राजश्व सङ्कलनको स्थिति अपेक्षाकृत हुन सकेको छैन भने खर्च गर्ने क्षमतामा पनि अवरोध आएको छ । एकातर्फ स्रोत थपेर बजेट निर्माण गर्नुपर्ने अवस्था छ ।

सङ्क्रमण जोखिम नियन्त्रणसम्बन्धी कामको कारणले अर्थतन्त्रमा परेको असरलाई पुनर्ताजगीमार्फत सामान्य अवस्थामा लिएर जाने सरकारको प्रयासलाई कार्यान्वयन गर्न थप स्रोतको आवश्यकता औँल्याउँदै उनले जोखिमपूर्ण वर्तमान यसका विषयमा पर्याप्त छलफल र बहस गर्न नसकिएको स्वीकार गरे । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाले खुला छलफलका लागि विद्युतीय माध्यमको प्रयोग गर्नु परिरहेको र कर्मचारी सीमित रुपमा आउनुपरिरहेको तर पनि त्यसका बाबाजुद कर्मचारीले जोखिम मोलेरै बजेटको तयारी गरिरहेका मन्त्री डा खतिवडाको भनाइ थियो ।

उनले सरकराले दुई चरणमा काम गर्न लागेको जानकारी गराउँदै पहिलो कोभिड–१९ को रोकथामसम्बन्धी मुलुकले चालेको कदमबाट तत्कालै परेको असरलाई कसरी हल गर्न सकिन्छ ? र दोस्रो विश्वव्यापी रुपमा आएको मन्दीलाई मध्यनगर गरी बजेट कस्तो ल्याउने भनेर बहस चलाइएको बताए ।

धेरै कम मुलुकको मात्रै आर्थिक वृद्धि दुई प्रतिशतमाथि हुने विश्वव्यापी अनुमान भइरहेको अवस्थामा लकडाउन लम्बिँदै गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव बढ्दै गए पनि आफ्ना कार्यक्रमलाई समायोजन गर्दै जानुपर्ने बाध्यता रहेको उनले बताए । बजेट निर्माणसँगै यही आर्थिक वर्षमा गर्नुपर्ने काममा पनि अर्थ मन्त्रालय लागि परेको उनले बताए । रासस