नारायण ढुङ्गाना, काठमाडौँ – बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड–१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउन वैशाख १५ सम्म रहेकामा त्यही निष्कर्षकै कारण २५ गतेसम्मका लागि निरन्तरता दिइएको हो ।


ADVERTISEMENT


शुरुशुरुमा आम सर्वसाधारणबाट लकडाउन जारी राख्नु पर्नेमा शतप्रतिशत सहमति थियो । अहिले सामाजिक सञ्जालमा भने यसको मिश्रित प्रतिक्रिया आउन थालेको छ । एक जना फेसबुक प्रयोगकर्ता सुवासराज दुलालले लकड़ाउनको स्वरुप परिवर्तन गरी विदेशबाट आएकालाई निगरानीमा राखेर नाकामा व्यवस्थित परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् । अर्का प्रयोगकर्ता कुलप्रसाद शर्मा अलिकति खुकुलो बनाउनुपर्ने आवश्यकता औँल्याउँछन् ।


ADVERTISEMENT

# # #


कतिपयले लकडाउन जारी राख्नुपर्ने त कतिपयले अझै कडाइ गर्नुपर्ने सुझाव प्रस्तुत गरेका छन् । खुकुलो पार्नुपर्ने वा स्वरुप परिवर्तन गर्नुपर्ने अभिव्यक्ति सामाजिक सञ्जालमा देखिन्छ । प्रतिक्रिया जे जस्तै आएपनि स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउन आजको आवश्यकता हो ।

विश्वव्यापी रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि शुरुआती चरणमा कोभिड–१९ को सङ्क्रमण रोक्न ‘लकडाउन’ निर्विकल्प भन्दै विश्वव्यापी रुपमा प्रयोग गरिएको हो । नेपालमा पनि त्यही नीति अवलम्बन गरी सरकारले चैत ११ गतेबाट लकडाउनको आदेश जारी गरेको हो । दैनिक जसो झण्डै तीन हजार मानिसले लकडाउन उल्लङ्घन गरिरहेका छन् ।

“लकडाउन सुरक्षाको महत्वपूर्ण उपाय भएकाले त्यसको उल्लङ्घन गर्नु भनेको आफैँलाई जोखिम पार्नु हो” भन्छन्, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा । कोभिड–१९ को जोखिमका बेला अग्रपङ्क्तिमा उभिने नेपाल प्रहरी नै हो । आम मानिस र सवारीसाधनको आवागमनलाई लकडाउनको पालनाका लागि सक्रिय भएर खटिनु तथा आपराधिक क्रियाकलाप रोक्नु अहिलेको प्रहरीको महत्वपूर्ण जिम्मेवारी हो । यस्तो अवस्थामा कसलाई रोगको सङ्क्रमण छ भनेर प्रहरीलाई थाहा हुन्न ।

त्यसैले पनि प्रहरी सम्वेदनशील भएर कार्यस्थलमा खटिएको छ । जोखिमका बीच सडकमा २४ सै घण्टा खटिएको नेपाल प्रहरीले सार्वजनिक रुपमा अपिल गर्दै भनिरहेको छ “तपाईँहरु घरमा बसिदिनुस्, हामी तपार्इँको सुरक्षाका लागि सडकमा छौँ ।” त्यति हुँदाहुँदै पनि मानिसको लापरबाही भने जारी छ । थाहा पाउँदापाउँदै पनि उल्लङ्घन गरेपछि उनीहरुलाई केही घण्टा सडकमै राख्ने, कोभिड–१९ को बारेमा आवश्यक सचेतना दिने अनि छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

अझै पनि जोखिम कायमै रहेको उल्लेख गर्दै पोखरेल भन्छन्, “जहाँ छौँ, त्यहीँ बसौँ, धैर्य गरौँ, हतार नगरौँ ।” नेपाल प्रहरीले बेलाबेलामा माइकिङ गर्दै भन्ने गरेको छ, ‘तपाईहरु घरमै बसिदिनुहोस्, तपाईहरुको सुरक्षाका लागि सडकमा हामी छौँ ।’ प्रहरीले कोभिड १९ को रोग, सर्ने प्रक्रिया, सावधानी र घरमा बस्नुको कारणबारे पनि सडकमा आइपुगेका मानिसलाई जानकारी दिने र माइक बजाउँदै पनि जानकारी दिने गरेको छ ।

थाहा हुँदाहुँदै पनि लकडाउनको ३५ दिनको अवधिमा मुलुकभर कूल एक लाख सात हजार मासिनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बताए । उनका अनुसार कतिपयलाई केही घण्टा सडकमै उभ्याएर राख्ने गरएको छ भने कतिपयलाई सम्झाएर छाड्ने गरिएको छ । अझै उल्लङ्घन गर्ने, विना पास सवारी चलाउने, झुटा विवरण पेश गरेर सवारी चलाउने क्रम भने रोकिएको छैन ।

पछिल्लो समयमा लकडाउन उल्लङ्घनको घटना अझै वृद्धि हुन थालेपछि गृह मन्त्रालयको सोमबारको परिपत्रअनुसार आजदेखि मुलुकभर नै लकडाउन कार्यान्वयनमा थप कडाइ गरिएको गृह प्रवक्ता केदारनाथ शर्मा बताउँछन् । गृहको निर्देशन प्राप्त प्रहरीले थप कडाइका साथ सुरक्षा परिचालन गरेको र पास बिनाका गाडी आवतजावतमा पूर्णतः रोक लगाएको छ । अनावश्यक रुपमा निस्किएकालाई समेत थप कडाई गरिएको प्रहरी प्रवक्ता शाही बताउँछन् । आज अपराह्नसम्ममा एक हजार १०० गाडीलाई नियन्त्रणमा लिइसकिएको छ । सोमबार ९०० गाडी नियन्त्रणमा लिइएकोमा आज कडाई गर्दा नतिजा देखिएको उनको भनाइ छ ।

केही दिन अघिसम्म मानिस सडकमा अलपत्र परेर हिँड्ने अवस्था थियो । सरकारले गाडीको व्यवस्था गरेर जिल्ला जिल्लामा मानिसहरु पठायो । विभिन्न संस्था र स्थानीय तहको विशेष सक्रियता रह्यो ।

अहिले सडकमा त्यस्ता मानिस छैनन् । अभावमा परेका मजदूर तथा गरिब परिवारलाई सरकारले राहत वितरण गरेको छ । लकडाउनबाट प्रभावित भएकालाई आवश्यक सहयोग जारी रहेकाले सरकराको आदेश पूर्णतः पालना गरेर रोग विरुद्ध एकबद्ध हुन सरकारले अपिल गरेको छ ।

सीमा क्षेत्रको सुरक्षामा खटिएको शसस्त्र प्रहरीले दक्षिणी क्षेत्रको सीमामा थप कडाइ गरेको छ । सो क्षेत्रमा २२ हजार ५०० बढी शसस्त्र प्रहरी परिचालन गरेर सीमा निगरानी गरिएको छ । त्यसका लागि एक हजार २१३ सीमा सुरक्षा निगरानी चौकी स्थापना गरिएको शसक्त प्रहरीका नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले बताए । सरकारले यही ३१ गतेसम्म सीमा आवागमन रोक्ने निर्णय गरेको छ ।

सीमा क्षेत्रबाट आएका मानिसमा कोभिड–१९ देखिएपछि सरकराले दक्षिणी नाकालाई थप कडाइ गरेको छ । मुलुकमा गत चैत ११ गतेबाट लकडाउनको घोषण गरिएको थियो । आज ३६ औँ दिनमा लकडाउन चलिरहेको छ । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरिसकेको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड १९ पुष्टि भइसकेको छ । रासस