करन ताम्राकार, डडेल्धुरा – डडेल्धुरामा लकडाउनका समयमा डडेल्धुरामा वन अतिक्रमण तथा काठको चोरीतस्करीमा वृद्धि भएको छ ।


ADVERTISEMENT


अवैधरुपमा काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय डडेल्धुराले गस्ती पेट्रोलिङ गरिरहेको जनाएको छ । लकडाउनका समयमा चुरे र महाभारत वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फडानी गरी जमिन अतिक्रमण गरिरहेका छन् । विशेषरी सालका रुख कटान गरी तस्करी भइरहेको छ ।


ADVERTISEMENT

# # #


लकडाउनका अवधिमा मात्रै आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा अवैध काठ बरामद गरिएको छ । बेवारिसे अवस्थामा रहेको साल तथा सल्ला गरी २०० घनफिट काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । लकडाउनका समयमा मौकाको फाइदा उठाउँदै जङ्गल क्षेत्रमा हुन सक्ने नकारात्मक गतिविधिलाई निस्तेज गर्न डिभिजन वन कार्यालय डडेल्धुराले गस्ती पेट्रेलिङको कामलाई तीव्रता दिएको वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।

आलिताल गाउँपालिका–४ को जाल्टुडामा वैशाख ७ गते जिपमा अवैध ढङ्गले लुकाई छिपाई तस्करी गर्न लागिएको नौ थान सालको कडी गोलिया पक्राउ गरिएको छ । राति ८ बजेका समयमा सेअच २५० नंको महेन्द्रा बोलेरो जिपमा तस्कर गर्न लागिएको (७,४,३) फिटका कडी ५ दशमलव २५ घनफिट काठ पक्राउ गरिएको वन अधिकृत आचार्यले बताए । पक्राउ गरिएको काठ र गाडी अहिले डिभिजन वन कार्यालयको परिसरमा राखिएको छ । उनले भने, “पक्राउ परेका २५ वर्षीय जिप चालकलाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

वैशाख ८ गते आलिताल गाउँपालिका–४ कै जाल्टुडाको एक झाडीमा लुकाई छिपाई अवस्थामा राखेको सालका १८ थान कडी (७,४,३) फिटको १० दशमलव ५ घनफिट काठ बेवारिसे अवस्थामा बरामद भएको छ । मूलबाटोबाट ५० मिटर भित्रपट्टि झाडीमा लुकाई छिपाई राखेको अवस्थामा सो काठ बरामद गरिएको हो । उक्त काठ नियन्त्रणमा लिई आलिताल सबडिभिजन वन कार्यालयमा राखिएको छ । काठ काट्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । यसैगरी वैशाख ११ गते आलिताल गाउँपालिका–६ को वसन्त हरियाली सामुदायिक वनमा साल र सल्लोका विभिन्न साइजका ६० थान काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । ५९ दशमलव ९३ घनफिट चिरान काठ बेवारिसे अवस्थामा बरामद भएको वन अधिकृत आचार्यले बताए । बरामद गरिएको काठ ट्र्याक्टरमा उठाइ आलिताल सबडिभिजनको परिसरमा राखिएको छ ।

उक्त काठका सम्बन्धमा सामुदायिक वनलाई स्पष्टीकरण सोधिएको छ । उनले भने, “समूहको बैठक बसेर जवाफ दिने भनी समूहले जनाएको छ । र वन कार्यालय र समूहले काठ काट्नेको खोजी जारी राखेको छ ।” परशुराम नगरपालिका–८ को सुन्दरी सामुदायिक वनमा एउटा सुखड रुख काटेर पाँच वटा गिन्डा बनाएको अवस्थामा भेटिएको छ । सामुदायिक वनभित्र चार थान थप गिन्डा (पुरानो देखिने) काठ वन कार्यालयको गस्ती टोलीले बरामद गरी सम्बन्धित समूहलाई जिम्मा लगाएको छ । यसको आयातन ४२ दशमलव ८ घनफिट रहेको छ । आवश्यक कारवाहीका लागि पत्राचार गरिएको छ भने काठ काट्ने व्यक्तिको खोजी जारी रहेको उनले बताए ।

लकडाउनका समयमा अहिलेसम्म भित्रिमधेशको चुरे क्षेत्रमा गस्ती पेट्रोलिङ गरेको र आगामी योजना महाभारत क्षेत्रको वन अतिक्रमणमा केन्द्रित रहने वन अधिकृत आचार्यको भनाइ छ ।

युवाद्वारा विपन्नलाई राहत वितरण

डडेल्धुरा अजयमेरुका ४७ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

अजयमेरु गाउँपालिका–२ कोइराली घर भई रोजगारीका लागि युएईको दुबइमा रहेका राजेन्द्र ऐर र अन्य स्थानीय युवाले अति विपन्न र सहाराविहीन ४७ परिवारलाई राहत वितरण गरेका हुन् । दुबइमा रहेका ऐरले राहत वितरणकै लागि नगद रकम पठाएका थिए भने स्थानीय युवाले रकम थपेर राहत सामग्री वितरण गरेका हुन् ।

एक महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण विपन्न परिवारलाई दैनिकी चलाउन समस्या भइरहेको गुनासो आएसँगै उनीहरुलाई दैनिकी चलाउन सहज होस् भन्नका लागि राहत वितरण गरिएको वडा नं २ का अध्यक्ष शिवराज भट्टले बताए । उनका अनुसार वडा नं २ का ४७ परिवारलाई २० किलोका दरले ९४० किलो चामल वितरण गरिएको छ । झण्डै ५० हजारबराबरको राहत वितरण गरिएको ऐरको भनाइ छ । स्थानीय युवाले राहतको चामल गाडीमार्फत घर घरमा पुर्याएका हुन् । रासस