काठमाण्डौं – सरकारले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र नेपाली प्रहरीलाई झिकेर सेनालाई जिम्मा दिने भएको छ । भवन तथा प्रतिष्ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती संरचनाको सुरक्षामा खटाइने भएको हो ।


ADVERTISEMENT


गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले सरकारी संरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले महत्वपूर्ण प्रतिष्ठान, सरकारी भवनरसंरचना तथा विभिन्न क्षेत्रको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीको विवरण आगामी बैठकमा पेश गर्न निर्देशन दिईएको बताउनुभयो ।

चुनावताका यस्ता संरचनाको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रलाई झिकेर अस्थायी रुपमा सेनालाई खटाइने गरिएको थियो । गृहको यो निर्णयसँगै देशभरका कारागार, विभिन्न दूतावास, नेपालस्थित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि सेनाको जनशक्ति खटाईने भएको छ ।

दक्षिणतर्फ नेपाल–भारत १ हजार ८ सय ८० किलोमिटर लम्बाईको सीमा क्षेत्रलाई कडाई गरिने छ । लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १ हजार २ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।

गृहको पछिल्लो निर्णयसँगै सीमा क्षेत्र आवातजावतमा थप कठाइ गर्न अन्य जिल्ला र महत्वपूर्ण भौतिक संरचनाको सुरक्षामा खटिएका जनशक्तिमा पनि सीमा केन्द्रीत गरिने छ । सुरक्षा निकायहरुबाट प्राप्त विवरणपछि सीमा क्षेत्रमा थप जनशक्ति परिचालन बारे थप निर्णय गरिने गृह प्रवक्ता शर्माले बताउनुभयो ।

सुरक्षा बैठकमा ४ वटा सुरक्षा निकायका प्रमुख, स्वास्थ्य, परराष्ट्र लगायत मन्त्रालयका उच्च अधिकारीको उपस्थिती थियो । सेना परिचालन सम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्ले गर्ने छ । भने कुन रुपमा सेनामा खटाईने भन्ने विषय गृहमन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने छ ।