काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो भारत भ्रमणमा लामो समयदेखि अल्झिएर बसेको पञ्चेश्वर वहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र टुङ्ग्याउने सहमति भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


भारतको पाँच दिने राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त आयोजनाबाट नेपालले पाउने लाभलाई सुनिश्चित गर्दै यो प्रक्रियालाई टुङ्गोमा पुर्याइने उनले बताएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारबाट सम्झौता अनुरुपको सहजीकरणको कार्य गरिसकेको सन्दर्भमा ती आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) थपिएको समयावधिभित्र सम्पन्न गर्नुपर्ने कुरामा नेपालले जोड दिएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री देउवाले धेरैवर्षदेखि कार्यान्वयनमा आउन नसकेको टनकपुर बाँध हेड रेगुलेटर एवं नेपाल सीमासम्म भारतले निर्माण गर्नुपर्ने लिङ्क नहरको डीपीआरलाई भारतीय पक्षबाट अन्तिम रुप दिइएको जानकारी प्राप्त भएको पनि बताए ।

भ्रमणका क्रममा दुईदेशबीच उर्जा व्यापार सम्झौताको मर्म अनुरुप यसमा अन्तर्निहित सबै पक्षहरुको कार्यान्वयनका लागि उपयुक्त उपायहरु अवलम्वन गर्दैजाने सहमति पनि भएको छ ।

व्यापार सहजीकरणका लागि यसअघि सहमति भएका व्यापार नाकाहरु कैलालीको गौरीफन्टा, बर्दियाको मुर्तिया, जटही, पिपरौन र पशुपतिनगर, सुकियापोखरीको स्तरोन्नति गरी चालु गर्ने सहमति भएको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

नेपाली कृषि तथा औद्योगिक उत्पादनको भारतीय बजारमा सहज पहुँच बनाउन परीक्षण र प्रमाणीकरण प्रयोगशाला एवं क्वारेन्टाइन सेवा केन्द्र स्थापना गर्न दुबै पक्षले सहकार्य गर्ने सहमति पनि भएको छ ।

त्यस्तै, नेपालले उपयोग गरिरहेको पारवहन सुविधालाई थप व्यवस्थित र सहज बनाउन तेश्रो मुलुकबाट नेपाल आउने ठूलोमात्राको मालसामान तथा रेलवे सेवासम्बन्धी पत्र आदानप्रदानलाई छिट्टै टुङ्गोमा पुर्याउने सहमति भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण बनेकोले भारतको राजनीतिक नेतृत्व र निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गरेको बताए । नेपालको पर्यटन क्षेत्रको विकासको सन्दर्भमा पनि महत्वपूर्ण कुराकानी भएको उनले उल्लेख गरे ।

यसका अतिरिक्त भारतको अनुदान सहयोगमा सुदूर पश्चिममा एक प्राविधिक शिक्षालय तथा तनहुँमा जीपी कोइराला श्वास प्रश्वास रोग नियन्त्रण केन्द्रको निर्माण गर्ने वारेमा सैद्धान्तिक सहमति भएको छ ।

त्यसैगरी‚ कुशीनगर–लुम्बिनी तथा बर्दिबास–बीरगंज रेलमार्ग, बीरगञ्ज–पथलैया–नारायणघाट तथा बुटवल–पोखरा सडकलाई द्रुतमार्गका रुपमा स्तरोन्नति गर्ने सहमति भएको छ ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, महाकाली नदीमा पक्की पुलहरु निर्माण गर्ने, बीरगञ्ज –रक्सौलमा मैत्रीपुलको निर्माण गर्नुका साथै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने पनि सहमति भएको छ ।

नेपालमा एक विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, नयाँ १३२ केभी ट्रान्समिसन लाइन निर्माण गर्ने, बुलवल–गोरखपुर तथा लम्की–बरेली ट्रान्समिसन लाइन निर्माण गर्ने सम्बन्धमा छलफल अगाडि बढाउने सहमति भएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेपाली नम्बर प्लेटका एलपीजी बुलेटको समस्या समाधान गरिदिन भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिँदै विद्यमान कानून अनुसार भारतीय नम्बरका एलपीजी बुलेटले मात्र भारतमा एलपीजी ढुवानी गर्न सक्ने बारेमा अवगत गराएका थिए ।

प्रधानमन्त्री देउवाले भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा आफूले संयुक्तरुपमा कटैया–कुशाहा तथा रक्सौल–परवानीपुर ट्रान्समिशन लाइनको उदघाटन गरेको र यसबाट नेपालले तत्काल थप १०० मेगावाट विजुली प्राप्त गर्न सक्ने बताए ।