काठमाडौँ – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा आपत्तिजनक रहेको जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ ।
‘नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्वोधन गर्दै आएको छ ।’
नेपाललाई जानकारी नदिई नेपाली भूमिमा सडक बनाउने यस्तो काम दुई मुलुकका प्रधानमन्त्री तहमा सीमाना विवादलाई आपसी कुराकानीमा टुंगो लगाउने सम्बन्धमा भएको सहमतिविपरित रहेको परराष्ट्र मन्त्रालयको भनाई छ ।
कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा अहिले त्यसको विरोध भइरहेको छ ।
भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो ।