मस्को — विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय रुसमा निकै तीव्र भएको छ । रुसमा मार्च मध्यसम्म नयाँ संक्रमित फाट्टफुट्ट रूपमा भेटिने गरेका थिए । मार्च पहिलो सातासम्ममा जम्मा १७ जना संक्रमित रहेकामा अन्त्यमा २ हजार ३ सय पुगेका थिए । त्यसयता संक्रमित संख्या क्रमश: थपिँदै गएको हो ।


ADVERTISEMENT


कोभिड–१९ का कारण रुसमा हालसम्म १ हजार ८ सय २७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ । संक्रमणका आधारमा रुस हाल विश्वकै सातौं स्थानमा छ । रुसमा भन्दा पहिले संक्रमण देखिएका चीन, इरान, टर्कीलगायत देश रुसभन्दा पछि छन् ।


ADVERTISEMENT

# # #


रुसमा शनिबार १० हजार ८ सय १७ जना संक्रमित थपिएका छन् भने १ सय ४ जनाको मृत्यु भएको छ । शुक्रबार १० हजार ६ सय ९९ र बिहीबार ११ हजार २ सय ३१ जनामा संक्रमण देखिएको थियो । बिहीबारको संख्या एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो । नयाँ संक्रमितमध्ये आधाभन्दा बढी राजधानी मस्कोका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्लो समय भाइरसको परीक्षण निकै ठूलो संख्यामा भएकाले नयाँ संक्रमित बढी भेटिएको दाबी गरेका छन् । उनका अनुसार रुसमा हाल दैनिक करिब १ लाख ५० हजार भन्दा बढी मानिसमा कोभिड–१९ को परीक्षण हुने गरेको छ । रुसमा हालसम्म ३५ लाखभन्दा बढीको परीक्षण गरिसकिएको छ ।

कोभिड–१९ का कारण राजधानी मस्को सबैभन्दा बढी प्रभावित भएको छ । देशभरिका संक्रमितमध्ये करिब आधा मस्कोका छन् । मस्कोका स्थानीयलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन मार्च अन्त्यदेखि नै प्रतिबन्ध लगाइसकिएको छ । मस्कोमा करिब १ करोड २५ लाख मानिस बस्छन् ।