नयाँदिल्ली — भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुवाहक रेल सेवा मंगलबारदेखि सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको उक्त निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् ।भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको रेल सेवा गत २४ मार्चदेखि बन्द गरिएको थियो । तत्कालका लागि भने विभिन्न पन्ध्र गन्तव्यका लागि मात्र रेल सेवा सञ्चालन हुने छन् ।


ADVERTISEMENT


मंगलबार दिल्लीबाट राँची, भुवनेश्वर, सिकन्दारावाद, बेग्लुरु, चेन्नई, तिरुबन्तपुरम, मगगाउँ, मुम्बई सेन्ट्रल, अहमदाबाद, दिब्रुगढ, अगरताला, हावडा, पटना, बिलासपुर र जम्मूसम्म रेल सञ्चालन हुने भएको छ । भारतको रेल्वे विश्वकै ठूलो सार्वजनिक यातायात सेवामध्येमा पर्छ । जसअन्तर्गत दैनिक ११ हजार रेल सञ्चालन हुने गर्छन् । यीमध्ये सात हजारभन्दा बढी यात्रुवाहक रेल छन् । जसबाट दैनिक १ करोड ३० लाखभन्दा बढीले यात्रा गर्ने गर्छन् ।


ADVERTISEMENT

# # #


यसका साथै मे १ देखि सञ्चालनमा आएको ‘श्रमिक स्पेसल ट्र्रेन’ लाई पनि पूर्ण क्षमतामा चलाइने भएको छ । विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गरेको गरिएको थियो । भारत राज्य सरकारहरुले अलपत्र परेका आप्रवासी कामदारहरुलाई घर लैजान रेल सेवा सुचारु गर्नुपर्ने माग गर्दै आएका थिए । श्रमिक ट्रेनका लागि बेग्लै निर्देशिका जारी गरिएको थियो । जसमा जुन राज्यबाट ट्रेन छुट्छ उक्त राज्यले यात्रुहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र यदि कसैमा कोरोना भाइरसको लक्षण देखिएको यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ ।

राज्य सरकारहरु असन्तुष्ट

केन्द्र सरकारको रेल सेवा सुचारु गर्ने निर्णयको राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । तेस्रो चरणको लकडाउन सकिनु केही दिन बाँकी रहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग चलेको करिब छ घन्टा लामो भिडियो कन्फरेन्समा विभिन्न राज्यका मुख्यमन्त्रीहरुत्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदराबादलगायतका सहरमा कोरोना भाइरसको संक्रमण उच्चदरमा बढिरहेको हुँदा रेल सेवा सुचारु गर्दा जोखिम थप बढ्ने भन्दै असन्तुष्टि जनाएका हुन् । भारतमा तेस्रो चरणको लकडाउन १७ मेमा सकिँदै छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ४८ दिनदेखि लकडाउन गरिए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको छ । भारतमा सोमबार साँझसम्म कोरोना भाइरसको संक्रमित संख्या ६७ हजार नाघेको छ । र, संक्रमणबाट दुई हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ ।