कपिलवस्तुमा आज थप भएका आठमध्ये एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा २९ सङ्क्रमित पुगेका छन् । थपिएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । उनीहरु २० देखि ३२ वर्ष उमेर समूह र एक महिला रहेकी छन् ।


ADVERTISEMENT


जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्वास्थ्यकर्मीमा भाइरसको सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । कपिलवस्तुका १० पालिकामा स्वास्थ्यकर्मी खटिएका छन् ।


ADVERTISEMENT

# # #


तौलिहवास्थित क्वारेन्टाइनमा रहेका सात जना भारतका विभिन्न स्थानबाट बन्दाबन्दीका बेला वैशाखको तेस्रो साता फर्केको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए । सङ्क्रमित सबैको कन्ट्रयाक्ट हिस्ट्री पत्ता लागाउने कार्य अघि बढाइएको छ ।

कपिलवस्तु नगरपालिका, वडा नम्बर २ तौलिहवाको बुद्धपद्म माविमा ६ र महेन्द्र प्रावि क्वारेन्टाइनमा एक जना बसेका थिए । जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगत भगतका अनुसार अहिले जिल्लाभरि ६१४ स्वास्थ्यकर्मी कार्यरत छन् ।

स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, सङ्क्रमित ओसारपसार, बिरामी परीक्षण र औषधोपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पिपिइलगायत स्वास्थ्य सामग्री उपलब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वडा नं १, ३, ४, ५, ६, ७ र ८ का एक महिला र सात पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको तौलिहवामा रहेको क्वारेण्टाइनवाट लिइएको स्वाबको परीक्षणवाट नतिजा पोजेटिभ देखिएको हो।

यसअघि कपिलवस्तुमा वैशाख २५ गते मायादेवी गाउँपालिकामा दुई, वैशाख २७ गते मायादेवीमै दुई, शुद्धोधन गाउँपालिकामा एक, वैशाख २९ गते यशोधरा गाँउपालिकामा १२, वुद्धभूमि नगरपालिकामा चार र वैशाख ३० मा कपिलवस्तु नगरपालिकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लाका १० पालिकामध्ये पाँचमा कोरोना सङ्क्रमण देखिएको छ । कपिलवस्तुमा कोभिड–१९ संक्रमण वढेपछि प्रशासनले सोमबारदेखि एक साताका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको थियो ।

सङ्क्रमित स्वास्थ्यकर्मीसहित सात जनालाई बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ भने स्टाफ नर्ससँग सम्पर्कमा आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । सङ्क्रमित नर्स क्वारेन्टाइनमा नबसेको र आफ्नै घरमा जाने आउने गरेको बताइएको छ ।

अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकामा उनमा संक्रमण पुष्टि भएको हो । सङ्क्रमण देखिएसँगै अस्पतालका अन्य कर्मचारीको परीक्षण गर्ने तयारी भएको छ । कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । संङक्रमित वडा नम्बर ३ का दुई तथा वडा नम्बर १, ४, ५, ६ र ८ का एक एक छन् ।

स्वास्थ्य टोली कपिलवस्तुमा

कपिलवस्तुमा थप सावधानी अपनाउन स्वास्थ्य विभाग काठमाडौँबाट राम नेपालीको संयोजकत्वमा चार सदस्यीय टोली आज यहाँ आइपुगेको छ । टोलीले सङ्क्रमित भेटिएका पाँच पालिकामा सूक्ष्म ढङ्गले कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र जाँच अघि बढाउने बताइएको छ । रासस