काठमाडौँ — साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ जना पुगेको छ । जसमा ११ जना नेपाली महिला छन् । एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


रियादस्थित नेपाली दूतावासका अनुसार यो हालसम्मको संक्रमित नेपालीको संख्या हो । राजदूत महेन्द्रसिंह राजपुतका अनुसार साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले यो सूचना उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिम क्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएको उनले बताए । संक्रमित भएका मध्ये कैयौं जना निको भइ काममा फर्किसकेका छन् ।

साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले मृत्यु भएका ३१ नेपाली नागरिकहरु मध्ये १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाइ पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको छ ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ ।

कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् । मंगलबार ९ जना सहित आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।