काठमाडौँ — सरकारले कोभिड–१९ ले सिर्जित संकट समाधानलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ । संघीय संसद्को संयुक्त सदनमा शुक्रबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्ने आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना र कोभिड–१९ ले समस्या परेका क्षेत्रका लागि सुविधा र आर्थिक प्याकेजलाई प्राथमिकता दिइनेछ ।


ADVERTISEMENT


कोभिड–१९ का कारण संकट बढेका बेला महत्त्वाकांक्षी कार्यक्रम कार्यान्वयन गर्न नसकिने ठहर गर्दै यसपटक अत्यावश्यक र विशेषगरी संकटबाट सिर्जित समस्या समाधान गर्ने खालका कार्यक्रममा मात्र सरकारले जोड दिन लागेको हो ।


ADVERTISEMENT

# # #


नीति तथा कार्यक्रम पास गर्नका लागि आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ । नीति तथा कार्यक्रम निर्माणमा संलग्न प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार सबै क्षेत्रमा रोजगारी सिर्जना गर्ने प्रकृतिका कार्यक्रम समावेश भएको हो ।

यसबाहेक स्वास्थ्य पूर्वाधार विस्तार, कृषिमा यान्त्रिकीकरण, जमिन बाँझो राख्न नपाउने, मल, बीउ तथा कृषकलाई सुविधालगायत विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिँदै छ ।

सेवासुविधा र त्यसका लागि आवश्यक रकम जेठ १५ गते पेस हुने बजेटमा समावेश हुनेछ ।

कोभिड–१९ संक्रमण जोखिमका कारण नीति तथा कार्यक्रम पेस गर्ने संसद् बैठकमा यस वर्ष विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । संसद् सचिवालयले सामाजिक दूरी कायम गरेर बस्न सिट नपुग्ने भएकाले उनीहरुलाई यस बर्ष नबोलाइएको जनाएको छ । विगतमा सरकारको वार्षिक कार्यक्रम पेस गर्ने बैठकमा उनीहरुलाई बोलाउने प्रचलन थियो ।