भक्तपुर — कोरोना संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोटका २७ वर्षीय युवकको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरू सबैको बुधबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानका अनुसार संक्रमित युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने २, छिमेकी, हजाम २ जना र २ साथीसहितको रिपोर्ट नेगेटिभ आएको छ । सशस्त्र प्रहरीका जवान ती युवक पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन् । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । परिवारसहित प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू ‘होम क्वारेन्टाइन’मा छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, भक्तपुर बस्दै आएकी सुनसरीकी २५ वर्षीया संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकी स्टाफ नर्सको ‘नेजल स्वाब’ रिपोर्ट बिहीबार नै नेगेटिभ आएको छ । ती स्टाफ नर्सलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । रिपोर्ट नेगेटिभ आए पनि एक साता आइसोलेसनमै राखिने अस्पतालले जनाएको छ ।