लण्डन – महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो ।


ADVERTISEMENT


सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।


ADVERTISEMENT

# # #


यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

कोरोना भाइरसका कारणले यो सातामात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको स्वास्थ्य समितिले जनाएको छ ।

 

डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् ।

यसैगरी साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अष्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

प्रभावित देशहरुमा राहत वितरण

यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ बाट प्रभावित देशहरुमा राहत वितरण पनि गरिरहेको जनाएको छ ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४९ देशका ३ सय शहरहरुमा १ हजार ६ सयभन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरु परिचालन गरिएको छ ।

संघका अनुसार शनिवार साँझसम्म ३८ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र ४० हजार भन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन् ।

मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, प्रोतुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरिय समिति गठन गरेर बिभिन्न उपसमिति गठन गरी विश्वभर राहतको लागि अभियान सन्चालन गरेको एनआरएनएको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।