– प्रदीप गिरी


ADVERTISEMENT


म यस्तै । सोह्रै आना नभएपनि यस्तै सदनमा २० वर्ष भन्दा बढी समयदेखि बोल्दै आएको छु । राष्ट्रपतिको सन्देशका नाममा औपचारिक रुपमा पेश गरिएको यस किसिमको दस्तावेजमा सँधै बोलेको छु । तर, यसपल्टजस्तो व्यर्थता, निरर्थता र निराशाको अनुभूति कहिल्यै पनि भएको थिएन ।


ADVERTISEMENT

# # #


मलाई सम्झना छ सभामुख महोदय, २०४२ सालमा यहाँसँग मेरो केन्द्रीय जेलमा पहिलो पटक साक्षात्कार भएको थियो । त्यो २४ साल गएको पनि हेर्दाहेर्दै ३५ वर्ष भइसकेछ । त्यो भन्दा १० वर्ष अघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भद्रगोल जेलमा देखादेख भएको थियो । उहाँलाई गोलघरमा राखिएको थियो । नजिकबाट कुरा गर्न गाह्रो भएपनि देखादेख भएको थियो । कति वर्ष भइसकेछ । मलाई राष्ट्रपतिको यो दस्तावेज पढ्दा, राष्ट्रपतिको सम्बोधन सुन्दा आफ्नै मनमा प्रश्न आएको छ, यत्रो वर्षसम्म हामी के गरेर बस्यौँ ? यो दस्तावेज सरकारको किंकर्तव्यविमुढताको एउटा ठोस प्रमाण छ । तर समस्या के छ भने त्यो किंकर्तव्यविमुढताले, दिशाविहीनताले म पनि संक्रमित भएजस्तो छ ।

मलाई पनि के बोलौँ, के बोलौँ जस्तो भएको छ । तर, कसको विरोध गर्ने ? जेलका सहकर्मीको विरोध गर्ने ? देश परिवर्तन गर्नका लागि लडेका मान्छेको हाँसो उडाउने ? अथवा कुन पक्षको समर्थन गर्ने ? हामी सबैले विगत ३०–४० वर्षमा बनाएका सबै सरकार लगभग उस्तै भएनन् र ? म आज यस विषम् घडीमा एउटा कुरा सभामुखमार्फत सबै सहयोद्धाहरुलाई सम्झना गराउन चाहन्छु । हामीले लगभग ४० वर्षदेखि अवाध गतिमा भोग्दै आएको सत्ता सानो अन्तरालपछि बाहेक हामीलाई सत्ताको हस्तान्तरण त भएछ, तर सत्ताको रुपान्तरण भएन । म यो कुरालाई बारम्बार दोहोर्‍याएर भन्छु । फलस्वरुप आज जुन एउटा कर्तव्यविमुढताको कुरा आएको छ, भ्रष्टाचारमा सिंगो देश चुर्लुम्म डुबेको छ । सुशासन भन्ने शब्द जिब्रोमा मात्रै अड्किएको छ । फगत कुशासन छ । त्यस कुशासन र भ्रष्टाचारलाई यस लकडाउनले ठोस रुपमा छाँम्न सकिने, बुझ्न सकिने, तौलन सकिने रुपमा गाउँगाउँमा प्रत्येक व्यक्तिलाई देखाइदिएको छ ।

दस्तावेजमा मुख्य कुरा मानव जातीको इतिहासमा आजसम्म कहिल्यै नपरेको समस्याका बारेमा एउटै पनि सोच चिन्तन छैन । सँधै भन्दै आएको भ्रष्टाचारको नियन्त्रण, सुशासनलाई लागू गर्ने अवश्य छ । अर्को थप कुरा छ, कसैलाई भोकै रहन दिन्नौँ, कसैलाई भोकै मर्न दिन्नौँ । म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदैछ ।

म विगत २ महिना आफ्नो गाउँमा थिएँ । लकडाउन घोषणा हुनुभन्दा दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्रमा (जो मेरो जन्म थलो पनि हो) घुम्न गएको बेला त्यहीँ लकडाउनमा परेँ । मलाई व्यक्तिगत रुपमा कसैका बारे केही भन्नु छैन । कुनै सीडीओ, कुनै गृहसचिव, कुनै डीआइजी वा कुनै एआइजीका बारेमा केही भन्नु छैन । मन्त्रीको पनि नाम लिएर केही भन्न चाहन्नँ । चाहेमा सक्छु म । यत्रो संवेदनाशून्यता, यत्रो अमानवीयता, प्रतिनिधिमुलकताको यत्रो अभाव ! आम नागरिकको अवस्था के होला ? कसरी यो लकडाउनको कठिनाई खेपिरहेका होलान् र कति दिन खेप्लान् ? यो प्रश्नको मेरो तीतो अनुभवले मैँले तपाईंका मन्त्रीज्यूसँग सम्पर्क गर्न खोज्दा (तपाईं होइन, हाम्रा भन्नु पर्यो) सीडीओ हस्याङफस्याङ छन् । डीआइजीलाई सवारी चलाउँदैमा फुर्सद छैन । म यसमा विस्तारमा जान चाहन्नँ । किनभने म अरुलाई दोष दिन चाहन्नँ ।

हामीले सत्ताको हस्तान्तरण त पायौँ, तर रुपान्तरण गर्न सकेनौँ । यो तीतो अनुभूति सभामुख महोदयलाई पनि होला र उहाँले आफ्ना सहकर्मी, सहयोद्धालाई बताउनु होला भनेर बोल्दैछु । यो किंकर्तव्यमुढताको कुरा । यो नसा लागेको हो ? यो दस्तावेजमा मुख्य कुरा मानव जातीको इतिहासमा आजसम्म कहिल्यै नपरेको समस्याका बारेमा एउटै पनि सोच चिन्तन छैन । सँधै भन्दै आएको भ्रष्टाचारको नियन्त्रण, सुशासनलाई लागू गर्ने अवश्य छ । अर्को थप कुरा छ, कसैलाई भोकै रहन दिन्नौँ, कसैलाई भोकै मर्न दिन्नौँ । म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदैछ । विभिन्न कविहरुले भनिसके, संवेदनशील मान्छेहरुले भनिसके, संवेदनशील नेताहरुले भनिसके, रोग भन्दा पनि भोकले मर्ने अवस्था नेपालमा आउँदैछ । यो सरकार, यो राज्यको संयन्त्र त्यसप्रति पूर्ण उदासिन छ, किन उदासिन छ ? भनिन्छ– रक्सीको नसा त खाएपछि लाग्छ । पैसाको नसा पाएपछि लाग्छ । तर, यो सत्ताको नसा त गाएपछि लाग्दो रहेछ । ओहो ! तपाईं त कति ठूलो मान्छे, तपाईं त महान, यो देश बनाउन तपाईंको जन्म भएको मान्छे भन्ने सुनेपछि ऊ बेहोस हुन्छ । हाम्रा नेताहरु, खासगरी सत्ताधारी पार्टीका नेताहरुलाई मुलुकका समस्याको जानकारी छ जस्तो लाग्दैन मलाई ।

मानवताको इतिहासमा दोस्रो विश्वयुद्ध भन्दा, एटम बमले ल्याएको खतरा भन्दा बढी खतरापूर्ण छ कोरोना । यो गरिनेछ, त्यो गरिनेछ । बाफ्रे, गरिने–गरिनेको लिस्ट ! ३० वर्षको मेरो संसदीयकालमा यत्रो गरिनेछ भन्ने कहीँ पढेको छैन । यसरी नै गरिनेछ गरिनेछ लख्दै जाने हो भने एकदिन मरिनेछ लेख्नुपर्ने अवस्था आउनेछ । जुन कुरालाई सम्बोधन गरेर, मरिने शब्दलाई हटाएर गरिने कुरा गर्नु पर्ने हो, त्यसको बारेमा सरकार मौन छ । जिम्मेवारीबाट पन्छिनका लागि भ्रष्टाचार शब्दको नाम मात्र उल्लेख छ ।

मैँले अघि भनेँ, आफ्ना सहयोद्धालाई आरोप लगाउन चाहन्नँ । तर, मुख्य ठाउँमा बसेको व्यक्तिले, नेतृत्वमा बसेको व्यक्तिले, प्रधानमन्त्रीको पदमा बसेका व्यक्तिले आफ्ना आफ्ना कर्तव्य पालना गर्ने बेलामा सभामुखको आसनमा बसेका व्यक्तिले होइन के गर्नु अब यस्तै हो भन्न पाईंदैन । कुनै घरमा तपाईंले चौकिदार, गार्ड राखेको छ तर, त्यो घरमा चोरी भयो भने चोर खोजिँदैन, पहिले त्यो गार्डसँग स्पष्टिकरण मागिन्छ । त्यो चौकिदारसँग स्पष्टिकरण मागिन्छ । त्यसकारण म यस सरकारसँग पहिलो पटक स्पष्टिकरण माग्दैछु ।

नेपालीहरु बलिया भए भने एकदिन सिंगो विश्वमा कुनै समय अमरसिंह थापाले खुकुरी चम्काएर सतलज पुगेजस्तै पुगौँला । अहिलेलाई आम नेपालीहरु रोगले ग्रस्त छन्, त्यसका लागि आवश्यक मात्रामा क्वारेन्टाइन बनाउनुहोस् ।

म ती वक्तामध्ये होइन, म ती सांसदमध्ये होइन, त्यस्तो प्रतिपक्षीको सदस्यमध्ये होइन, जसले बिना कारण सरकारको विरोधका लागि विरोध गर्ने गरेको छ । यो सरकारको अकर्मण्यता, अक्षमता, लगभग त्यस्तै छ, जस्तो दोस्रो विश्वयुद्धका मुखमा बेलायतका प्रधानमन्त्री नेभिल चेम्बरलेइनको थियो । चेम्बरलेइनलाई हटाउन उनकै कन्जरभेटिभ पार्टीका लर्ड एमेलीले उठेर, उनकै पार्टीका चर्चिलले उठेर भन्नु परेको थियो– ‘इनफ, इनफ’, हामीमाथि दया गर, त्यो कुसी छोड्देऊ । म त्यो दृश्य यहाँ दोहोर्‍याउन चाहन्नँ, दोहोरियोस् भन्ने भन्ने पनि चाहन्नँ ।

आज यस दस्तावेजमा सबथोक देखेँ । तर, माया देखिँन, प्रेम देखिँन । त्यसैले यो दस्तावेजका विपक्षमा बोल्दिन्छु, मतदान दिनुपर्यो भने विपक्षमा दिन्छु ।

मलाई प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा कुनै शंका छैन । उहाँले दिएको वचन र उहाँले दिएको राष्ट्रवाद यस्तै हो भने उहाँले जनसेना बनाएर, अध्यक्ष प्रचण्डसँग हातमा हात मिलाएर भारत र चीनलाई सबक सिकाउन बेर छैन । तर, समस्या छ आज भोकमरीको । जो आगामी दिनमा आउने वाला छ । त्यसकारण म के चाहन्छु भने नेपालीहरु बलिया भए भने एकदिन सिंगो विश्वमा कुनै समय अमरसिंह थापाले खुकुरी चम्काएर सतलज पुगेजस्तै पुगौँला । अहिलेलाई आम नेपालीहरु रोगले ग्रस्त छन्, त्यसका लागि आवश्यक मात्रामा क्वारेन्टाइन बनाउनुहोस् । बोर्डरमा अलपत्र बसेका हजारौँ नेपाली नागरिकहरु छन् । तिनलाई भित्र्याउनुहोस् । सँगै बाचौँला, सँगै मरौँला । जसका पैसाले हामी नेपाली बाँचेका छौँ, ती लाखौँ विदेशिएका (मलेशिया र मध्यपूर्वका) हाम्रा नेपाली दाजुभाइलाई ल्याउने आँट देखाउनुहोस् ।

उनीहरु त्यहाँ चाहेर गएरका होइनन्, त्यसलाई तपाईं कविताको भाषामा भन्नुहोस् – अर्काका देशमा गएर कसका निमित्त लड्दैछौ ? अर्कोको देशमा कुँजिएर कसका निम्ती कमाउँदैछौ ? आऊ आफ्नै देशमा आएर लड, आऊ आफ्नै देशमा आएर मर । जो सँग लड्नु छ, यहीँ लडौँला । आफ्नो मुलुकको भारी बिसाउन छाडेर अर्काको मुलुकको भारी बोक्न जाने ? भन्नुहोस् । कविताका माध्यमबाट भन्नुहोस् । कविताका माध्यमबाट भन्ने काम तपाईंको हो प्रधानमन्त्रीजी, तपाईंको हो । राष्ट्रपतिलाई पनि म सम्मानपूर्वक सम्झना गराउन चाहन्छु – राष्ट्रपति कुनै पार्टीको सदस्य होइन । के कति औपचारिकतावश आएर एक पटक बोल्नुपर्छ । उहाँलाई थाहा छैन । बेलायतकी महारानी एलिजावेथले महामारी कोरोनाका बेलामा मुलुकलाई अगाडी बसेर सन्देश दिएजस्तै सन्देश दिने हैसियत नेपालका राष्ट्रपतिमा पनि हुन्छ । तर, त्यसका लागि उहाँले सिंगो नेपालका लागि राष्ट्रपति हुन सिक्नुपर्छ । यो राष्ट्रपतिको सन्देश सबै दललाई, सबै प्रतिपक्षलाई सम्बोधन गरिने सन्देश हो । त्यसको यहाँ ध्वनी छैन ।

आज मुलुकलाई सदन चाहिएको छ, सडक चाहिएको छ । तर, त्यो भन्दा पनि ठूलो कुरा सहानुभूति चाहिएको छ । त्यो भन्दा पहिले परस्पर संवेदना चाहिएको छ । सबैभन्दा पहिले प्रेम र माया चाहिएको छ ।

अन्त्यमा भन्छु, कुनै देश र समाजको सबैभन्दा ठूलो समस्या, क्यान्सरभन्दा पनि खतरनाक, कोभिड–१९ भन्दा पनि खतरनाक भ्रष्टाचार हो । त्यसकारण कुनै समय प्रधानमन्त्रीले म भ्रष्टाचार शून्य बनाउँछु भन्दा मान्छे तातेका थिए । म दुई वर्षदेखि घटेका अनेकन काण्डको विश्लेषण गर्न चाहन्नँ । सञ्चारमन्त्रीदेखि विभिन्न मन्त्रीहरु दागी भएको कुरा पनि म दोहोर्‍याउन चाहन्नँ । उहाँहरुले आफूलाई एकदिन सिद्ध गर्नुहोला । म मात्र यति भन्छु, गएर गाउँमा, घरमा, जिल्लामा, अदालतमा, प्रशासनमा वास्तविकता बुझ्नुहोस् । कुनै समय भूमिगत हिंड्नु भएका तपाईं मित्रहरु, लडाकू गट्ठा बनाएका मन्त्रीहरु, झुक्किएर भएपनि गाउँको अवस्था बुझ्नुहोस् । त्यो अवस्था बुझ्नु भनेको कोभिड–१९को आतंक बुझ्नु हो । आज मुलुकलाई सदन चाहिएको छ, सडक चाहिएको छ । तर, त्यो भन्दा पनि ठूलो कुरा सहानुभूति चाहिएको छ । त्यो भन्दा पहिले परस्पर संवेदना चाहिएको छ । सबैभन्दा पहिले प्रेम र माया चाहिएको छ । आफ्ना दाजुभाईलाई, हाम्रा छिमेकीलाई माया गर्न नसक्ने व्यक्ति समाजवादी हुँदैन । मार्क्स र एंगेल्सको सिद्धान्त बिर्सिनुहोस् । माओको सिद्धान्तलाई पनि गोजीमा थन्क्याउनुहोस् । यति बुझ्नुहोस्, समाजवादको मूल परिभाषा भनेको आफ्ना जनतालाई माया गर्ने, आफ्ना छिमेकीलाई माया गर्ने, अर्को शब्दमा भन्ने हो भने आफूलाई माया गर्ने हो । आज यस दस्तावेजमा सबथोक देखेँ । तर, माया देखिँन, प्रेम देखिँन । त्यसैले यो दस्तावेजका विपक्षमा बोल्दिन्छु, मतदान दिनुपर्यो भने विपक्षमा दिन्छु । सरकारले समस्या समाधान गरोस् । सरकार समाधान गर्दैन भने ठाउँ छोडोस् । यो म बोलिराखेको छैन, दोस्रो विश्वयुद्धको चर्चिल बोल्दैछ ।

प्रधानमन्त्रीले भन्न सक्नुहुन्छ – मसँग तपाईंलाई दिनका लागि आँसु बाहेक केही पनि छैन । श्रमबाहेक केही पनि छैन । रोदनबाहेक केही पनि छैन । आउनुहोस्, दुःख पाएर भएपनि सँगै बसौँ । आउनुहोस् हामी केही उपाय गर्छौँ भनेर भन्नुहोस् । झठो ‘ललिपप’ दिने होइन ।

(नेपाली कांग्रेसका सांसद गिरीले आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि गरेको टिप्प्णीमा आधारित )