काठमाडौँ – कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ ।


ADVERTISEMENT


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


समितिको निर्णयबारे जानकारी दिँदै समितिका सदस्य–सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ कल्पनै नहुने गरी बढ्ने अवस्था रहेकामा बन्दाबन्दीकै कारण सङ्क्रमण रोक्न सफल भएकाले थप गर्नु नै उपयुक्त र सही छ भन्ने निष्कर्ष समितिको रहेको बताउनुभयो । यसअघि बन्दाबन्दी सोमबार (भोलि) राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो । बन्दाबन्दीको अन्तिम निर्णय आज जारी मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

समितिको आजको बैठकमा विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै मापदण्ड नपुगेकालाई पनि पुर्याउने र आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय पनि समितिले गरेको छ । यस्तै बन्दाबन्दी कार्यान्वयन र मानिसको आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाउने तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने पनि समितिले निर्णय गरेको छ । अत्यावश्यक वस्तुको कमी हुन नदिने र आपूर्तिको बन्दोबस्त मिलाउने निर्णय पनि समितिले गरेको बिडारीले बताए।

आजको बैठकमा विदेशमा रहेका नेपालीलाई ल्याउने विषयमा समेत गम्भीर छलफल भएको थियो । छलफलले निष्कर्ष निकाल्न भने नसकेको छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन र आइसोलेशनको आवश्यक व्यवस्थापन नहुँदासम्म ल्याउन नहुने सुझाव प्रस्तुत गरेको थियो ।