काठमाडौँ– पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ ।


ADVERTISEMENT


राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पुस्तकलाई पत्रकार थापाले निकै सरल र सटिक रुपमा प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT

# # #


जम्मा ३५४ पृष्ठको पुस्तकमा नौ विषयसूची क्रमशः दरबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन रहेको छ ।

उक्त पुस्तकको आज एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारको विविध पाटोलाई छर्लङ्ग पारिएको पुस्तक भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज हुने बताइन् ।

उनले मुलुकमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल गर्न अभियान नै चलाउन जरुरी भएको उल्लेख गरिन् । “भ्रष्टाचार अति भइसक्यो, यसले देशलाई बर्बादीतर्फ लगिरहेको छ, ‘एकथरि सोरेर खाने अर्कोथरी नाङ्गिएर बाच्नुपर्ने’ अवस्था रहेकाले अब, भ्रष्टाचारविरुद्ध अभियान नै चलाउनुपर्छ,”–पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन् । उनले राजनीतिदेखि न्यायालयसम्म भ्रष्टाचार मौलाउँदै गएको र यसमा पढे लेखेका समुदाय र नागरिक समाजले डटेर विरोध गर्नुपर्नेमा जोड दिइन् ।

सांसद राधेश्याम अधिकारीले २०४६ देखि २०७३ सालसम्मको राजनीतिक कालखण्डको ऐतिहासिक दस्तावेजलाई उल्लेख गरिएको पुस्तक पारदर्शिता, भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न संस्थाको सन्दर्भ सामग्री बन्ने सङ्ग्रहणीय पुस्तक हो भने । पुस्तकले राजनीतिक दल, संसद, अदालत र अख्तियारको कमीकमजोरी र वेतिथिलाई सान्दर्भिक रुपमा औंल्याएको उनले उल्लेख गरे ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले भ्रष्टाचारको जटिल विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको पुस्तकले राज्य ढुकुटीको दोहन, भ्रष्टाचारीलाई उन्मुक्ति तथा नीतिगत भ्रष्टाचारजस्ता विषयलाई उजागर गरेको बताए ।

पुस्तकका लेखक थापाले लामो समयको अध्ययन र तथ्यपरक रुपमा लेखिएको पुस्तकमा राणाकालदेखि अहिलेसम्मको अवस्थालाई उजागर गरिएको बताए । फाइन प्रिन्टले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ४८८ रहेको छ । रासस