मकवानपुर — काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकी हेटौंडा–४ हुप्रचौरकी ५४ वर्षीय महिलाको उपचारमा संलग्न ३ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

ती महिलालाई जेठ ४ गते हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । शुक्रबार उनमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न हेटौंडा अस्पतालका डाक्टरसहित अन्य स्वास्थ्यकर्मीलाई हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा रहेको क्वारेन्टाइनमा राखिएको हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संलकन गरिसकेको उनले बताए ।


ADVERTISEMENT


हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले ती महिला पेट फुलेको, दम बढेको अवस्थामा उपचारका लागि आएकी थिइन् । ‘बिरामीमा दम र रक्तचाप बढी देखिएको थियो । उहाँ मधुमेहको पनि बिरामी हुनुहुँदो रहेछ । थप उपचारका लागि काठमाडौं रिफर गरेको छैटौं दिनमा कोरोना देखिएको हो’, डा. श्रेष्ठले भने, ‘क्वारेन्टाइनमा रहेको डाक्टर तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ ।’


ADVERTISEMENT

# # #


शनिबार हेटौंडा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा विकास समितिका सदस्यहरुसहित ७८ जनाको स्वाब संलकन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । ‘हेटौंडाको किटजन्य ल्याबमा गरिएको परीक्षणअनुसार १२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ’, डा. श्रेष्ठले भने, ‘६६ जनाको स्वाबको पीसीआर रिपोर्ट आइतबार आउनेछ ।’