काठमाडौं – सरकारले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गर्ने योजना बनाएको छ ।


ADVERTISEMENT


सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा परीक्षणको दायरा विस्तार र तीव्र पारिने बताए । एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अहिले सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार भएको उनले बताए ।


ADVERTISEMENT

# # #


परीक्षणको दायरालाई विस्तार गर्न कीट तथा औषधिको प्रवन्त्र द्रूत गतिमा गरी यथाशीघ्र उन्नत बनाइने उनले बताए । उनले भने, ‘विज्ञहरुले दिएको सल्लाह बमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण गर्ने योजनामा सरकार छ ।’

कोरोना विरुद्धको लडाईं निकै चुनौतिपूर्ण र लामो रहेको भन्ने यथार्थप्रति सरकार सचेत रहेको भन्दै प्रधानमन्त्री ओलीले आपूर्तीका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरणको खरिदमा सिर्जना भएका केही अप्ठ्याराहरु हल भएको बताए ।

प्रत्येक स्थानीय तहलाई कोभिड–१९सँग जुध्न सक्ने गरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा, आधारभूत वस्तुहरुको आपूर्ति र शान्ति सुव्यवस्था कायम गर्ने तुल्याउन संघ र प्रदेश सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने पनि उनले बताए । उनले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने बताए ।