काठमाडौँ – वाग्मती प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेशमा प्रहरी कर्मचारी समायोजनपश्चात् जनशक्ति विकास र आवश्यक भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।


ADVERTISEMENT


प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभासमक्ष आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रहरीले गर्ने अपराधको अनुसन्धान कार्यलाई वस्तुनिष्ठ, प्रमाणमुखी र प्रभावकारी बनाउन आधुनिक प्रविधिसहितको विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने, प्रदेशभित्र प्रवेश गर्ने सवारी साधनहरूको व्यवस्थित तथ्याङ्क तथा चेकजाँच गर्नका लागि प्रमुख नाकाहरूमा स्वचालित सवारी साधन अनुगमन प्रणालीको विकास गर्ने, स्थानीय तहमा चालू अवस्थामा रहेका शान्ति पार्क, स्मारक, शान्ति सङ्ग्रहालय जस्ता पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।


ADVERTISEMENT

# # #


त्यस्तै विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोषको रकम वृद्धि गरिने भएको छ । सङ्घ, प्रदेश, स्थानीय तह एवम् अन्तरप्रदेश, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबीच समन्वय काम गरिने जनाइएको छ । उद्धार एवम् राहत सामग्रीको भण्डारण गर्न प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको गोदाम घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लामा उद्धार एवम् राहत सामग्री भण्डारण र व्यवस्थापन गर्ने जनाएको छ ।

शहिद, बेपत्ता परिवार एवम् घाइते तथा अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई ‘द्वन्द्व पीडितका साथ प्रदेश सरकार’ भन्ने नाराका साथ द्वन्द्वपीडित परिवारहरूका लागि स्वास्थ्य उपचार, सीप अभिवृद्धि र रोजगारी कार्यक्रम र ‘प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान’ भन्ने नाराका साथ स्थानीय न्यायिक समितिका कार्यलाई कानूनी र प्रशासनिक सहजीकरण गर्न प्रत्येक स्थानीय तहमा कानूनी सहजकर्ता व्यवस्था गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने भएको छ । सूचना सङ्कलन, अध्ययन, अनुसन्धान, विश्लेषण र सूचना प्रवाह गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस