गुल्मी – कोरोना संक्रमित गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले प्रेस विज्ञप्तिमार्फत आफ्नो स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


गाउँपालिका अध्यक्ष पोखरेलले आज प्रेस विज्ञप्ति नै प्रकाशन गरी रोगको पहिचान समयमै भएकाले आफू क्वारेन्टिनमा बस्ने र उक्त समयमा गाउँपालिकाका आगामी योजना बनाउने अवसरका रुपमा लिने बताए । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई संक्रमणको जोखिम हुने हुँदा सुरक्षित रहन आग्रह पनि गरेका छन् ।


ADVERTISEMENT

# # #


चार दिनअघि स्वाब संकलन गरी पठाएकामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै चौतर्फी चासो बढेपछि उनले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्यावस्थाबारे जानकारी दिएका हुन् । उनले आफू गाउँपालिकामा निर्मित क्वारेन्टिन कक्षको अनुगमन तथा विभिन्न कार्यक्रममा तमघाससम्म पुगेको र अन्य ठाउँमा नगएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको स्वाब परीक्षणमा पालिका अध्यक्ष पोखरेलसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले बताए । गुल्मीमा पहिलो पटक मदाने गाउँपालिकामा यही जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ४४ जनाको स्वाब संकलन गरी आज प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। कोरोना संक्रमणका कारण यहाँ हालसम्म एक जनाको ज्यान गएको छ भने तीन जना संक्रमित भएका छन् । धुर्कोटकै अर्का संक्रमित भने वडा नम्बर ४ जैसीथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा क्वारेन्टिनमा छन् । उनी दीर्घरोगी भएकाले थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको छ । गाउँपालिकाका एउटै वडामा दुई जना संक्रमित भेटिएपछि गाउँपालिका बन्द गरिएको छ ।

जनप्रतिनिधि होम क्वारेन्टिनमा

गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा राजनीतिक दलका प्रमुख होम क्वारेन्टिनमा बसेका छन् ।

जिल्ला समन्वय समितिद्वारा आइतबार आयोजित बैठकमा संक्रमित पालिका अध्यक्षसँगै १२ वटै पालिका र राजनीतिक दलका प्रमुख सहभागी थिए । बैठकमा मदाने र छत्रकोट गाउँपालिकाका उपाध्यक्ष पनि सहभागी थिए । संक्रमितसँगै बैठकमा सहभागी भएका कारण कोरोनाको जोखिम रहेको आशंकामा जनप्रतिनिधि र दलका नेता क्वारेन्टिनमा बसेको जिससले जनाएको छ ।